दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

मंगलबार, ९ भदौ, २०८३
डिजिटल संस्करण

सप्तरीमा दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शम्भुनाथ नगरपालिका– ३ ट्राफिक बजारमा बस्दै आएकी रुविना खातुनकी दुई वर्षीया छोरीलाई हत्या गरी घरपछाडिको झाडीमा फालेको आरोपमा उनकी कान्छी आमा पक्राउ परेकी हुन्।

प्रहरीले घटनापछि तत्कालै आरोपितलाई पक्राउ गरी सोधपुछ गर्दा आफूले नै बालिकाको हत्या गरेको स्वीकार गरेको जनाएको छ। पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका– २, कन्कपट्टी टोलकी तथा हाल शम्भुनाथ नगरपालिका– ३ ट्राफिक बजारमा बस्दै आएकी करिब २५ वर्षीया मुस्कान भनिने जास्मिन खातुन रहेको प्रहरीले जनाएको छ।

घटना भदौ ७ गते बिहान करिब १०:३५ बजे शम्भुनाथ नगरपालिका– ३ स्थित जाहेरवालीको घरपछाडिको झाडीमा भएको प्रहरीको भनाइ छ।

मृतककी आमा रुविना खातुनले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको छ। सप्तरी जिल्ला अदालतबाट सोही दिनदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हेमराज घिमिरेले घटनाबारे अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

सुझावित समाचार