३१ साउनमा १३ वर्षकी बालिका रञ्जिता (नाम परिवर्तन) हराएको भन्दै इलाका प्रहरी कार्यालय दमकमा उजुरी पर्याे। ती बालिका घरबाट आफूखुसी हिँडेको परिवारले प्रहरीलाई बताएको थियो।
बालिका हराएको सूचनापछि इलाका प्रहरी कार्यालय दमकले गम्भीरतापूर्वक खोजतलास गर्याे। खोजतलासका क्रममा बालिका यस्तो गिरोहसँग फेला परिन्, जसले प्रहरी नै अच्चममा पार्याे। प्रहरीले खोजतलासको क्रममा ती बालिका ४ भदौमा बाटोमा हिँड्दै गरेको अवस्थामा भेटिइन्। प्रहरीले सोधपुछका क्रममा उनलाई दमक– ८ स्थित मनकामना होटेल एन्ड लजमा बाध्य बनाएर यौन व्यवसायमा लगाएको तथ्य फेला पर्याे ।
घरबाट हिँडेपछि बालिका मोरङ केराबारी गाउँपालिका घर भई दमकमा बस्ने पार्वती ऋषिदेवसँग भेटिन्। पार्वतीले उनलाई ललाइफकाई मनकामना होटेलमा पुर्याइन् र यौन व्यवसायमा लगाइन्। ती महिलाले यसरी नै बालबालिकालाई ललाइफकाई यौन धन्दामा लगाउने गरेको अनुसन्धानमा खटिएका प्रहरी बताउँछन्। पार्वतीले होटेल सञ्चालक दमक– ८ का ५५ वर्षीया गणेशप्रसाद अधिकारीसम्म बालिकाहरू पुर्याउने गरेको अनुसन्धानमा खटिएका प्रहरीले बताए।
‘ती १३ वर्षीया बालिकाबाट यो तथ्य खुल्न आएको छ। तर, पार्वती र गणेशप्रसाद मिलेर अन्य बालिकालाई पनि यौन धन्दामा लाग्न बाध्य बनाएको पाइएको छ,’ अनुसन्धानमा खटिएका ती प्रहरी भन्छन्, ‘सुरुमा त्यहाँसम्म पुर्याउने, त्यसपछि लागुऔषधको लतमा फसाउने रहेछन्। लागुऔषधको लतमा फसेपछि पैसा आवश्यक पर्ने र त्यसका लागि निरन्तर यौन धन्दामा लाग्ने गरेको देखिन्छ।’
ती बालिकालाई प्रहरीले उद्धार गरेर दमकस्थित ‘सेफहाउस’ पठाएको छ। बालिकालाई यौन धन्दामा लगाउन बाध्य बनाउने पार्वती र गणेशलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ। उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवालले जानकारी दिए।