काठमाडौं प्रवेश तथा बाहिरिन प्रयोग हुने सुरुङमार्गमा सवारीसाधनअनुसार फरक–फरक शुल्क तोकिएको छ। सुरुङमार्ग हुँदै काठमाडौं भित्रिँदा कार तथा भ्यानलाई ६५ रुपैयाँ, मिनीबस तथा ट्रकलाई ११५ रुपैयाँ, ठुला बस तथा ट्रकलाई २६० रुपैयाँ र भारी उपकरणलाई ६ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
यस्तै, काठमाडौं बाहिरिँदा कार तथा भ्यानलाई ६० रुपैयाँ, मिनीबस तथा ट्रकलाई ८० रुपैयाँ, ठुला बस तथा ट्रकलाई दुई स रुपैयाँ र ठुला उपकरणलाई २५० रुपैयाँ शुल्क लाग्नेछ।
सुरुङमार्ग सञ्चालन गर्ने सेवाप्रदायक कम्पनीले टोल गेटमा एन–ट्याग तथा नगद दुवै माध्यमबाट शुल्क उठाउने व्यवस्था गरिएको छ। एन–ट्याग कुमारी, नबिल, ग्लोबल आइएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र सानिमा बैंकबाट प्राप्त गर्न सकिनेछ।
सुरुङमार्गमा मोटरसाइकल, तीनपांग्रे सवारीसाधन तथा इन्धन बोक्ने ट्रकलाई भने प्रवेश निषेध गरिएको छ।
सुरुङमार्गभित्र सुरक्षित आवागमनका लागि एयर भेन्टिलेसनमार्फत अक्सिजन प्रवाहको व्यवस्था गरिएको छ। त्यस्तै, टेलिफोन सेवासमेत जडान गरिएको छ।
सुरुङमार्गमा प्रकाश व्यवस्थाका लागि डेडिकेटेड फिडरमार्फत दुई मेगावाट विद्युत् निरन्तर आपूर्ति गरिनेछ। विद्युत् आपूर्ति अवरुद्ध भएमा आन्तरिक डिजेल प्लान्टमार्फत १५ देखि ३० सेकेन्डभित्र वैकल्पिक विद्युत् आपूर्ति हुने व्यवस्था गरिएको छ।
सुरुङमार्गभित्र आगलागी नियन्त्रणका लागि आवश्यक सुरक्षा व्यवस्था पनि गरिएको छ। यद्यपि, सुरुङमार्गमा छुट्टै गति सीमा तोकिएको छैन। तर, सवारीसाधनले ओभरटेक गर्न तथा विपरीत लेनमा प्रवेश गर्न नपाउने व्यवस्था गरिएको छ।