भरिन थाल्यो बन्चरेडाँडा ल्यान्डफिल साइट, विकल्पबारे अन्योल

स्थानीय र संघ सरकारबिच आरोप–प्रत्यारोप, फोहोर विसर्जन रोक्न स्थानीयवासीको चेतावनी

मंगलबार, ९ भदौ, २०८३
डिजिटल संस्करण

काठमाडौं उपत्यकाको फोहोर वर्गीकरण गरेर नकुहिने फोहोर मात्र विस्थापन गर्न निर्माण गरिएको थियो, नुवाकोटको बन्चरेडाँडामा ल्यान्डफिल साइट । तर, काठमाडौं उपत्यका काठमाडौं र ललितपुर महानगरपालिकासहित १८ पालिका र काभ्रेका मन्डनदेउपुर, धुलिखेल र बनेपाले फोहोर वर्गीकरण गर्न सकेनन् । र, सबै फोहोर विस्थापन गर्दा ल्यान्डफिल साइट चार वर्षमै भरिन थालेको छ । जबकि, तत्कालीन सहरी विकास मन्त्रालय (हाल पूर्वाधार विकास मन्त्रालय)ले २० वर्षका लागि भनेर ल्यान्डफिल साइट बनाएको थियो । तर, १६ वर्ष बाँकी छँदै ७० प्रतिशत भाग फोहोरले भरिएको छ ।

गत साता मात्र पूर्वाधार विकास मन्त्रालयमा यसबारे छलफल पनि भएको थियो । कुनै निष्कर्ष निकाल्न सकेन । पूर्वाधार विकास मत्रालयका प्रवक्ता रामहरि पोखरेलले अब फोहोर व्यवस्थापन कसरी गर्ने भन्नेबारे टुंगो लाग्न नसकेको बताए । ‘एक चरणमा छलफल भएको हो, विगतमा सहरी विकास मन्त्रालयले यो काम हेरेको थियो । अब कुन मोडालिटीमा जाने भन्नेबारे टुंगो छैन,’ उनले भने ।

सिसडोल भरिएपछि १८ भदौ ०७८ देखि बन्चरेडाँडामा फोहोर विस्थापन गर्न थालिएको थियो । उपत्यकाका तीन जिल्लाका १८ पालिका र काभ्रेपलाञ्चोकको मन्डनदेउपुर, धुलिखेल र बनेपाको गरी दैनिक एक हजार नौ सय टन फोहोर बन्चरेडाँडामा विस्थापन गरिन्छ । काठमाडौं महानगरको हिस्सा मात्र आठ सय टन फोहोर हो । बन्चरेडाँडाको क्षेत्रफल एक हजार सात सय ९० रोपनी छ भने ६१ करोड मुआब्जा बाँडेर उक्त जग्गा सरकारले लिएको थियो । निर्माण गर्ने वेलामा व्यवस्थित तथा वर्गीकरण गरिएको फोहोर विसर्जन गर्दा कम्तीमा २० वर्ष, पेलेर तथा घटाएर फोहोर व्यवस्थापन गरे २५ वर्ष र स्यानेटरी ल्यान्डफिल गर्दा कम्तीमा ५० वर्षसम्म धान्ने अनुमान गरिएको थियो । तर, फोहोर फाल्दा लापरबाही गरिएपछि ल्यान्डफिल क्षेत्र अस्तव्यस्त बनेको छ । फोहोर विस्थापन गर्न खोलाको धार मोडेर दुईवटा डाँडाको बिचमा गहिरो पारिएको ठाउँ भरिन थालेपछि सरकारी निकायलाई नै टाउको दुखाइ बन्न थालेको छ ।

काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईले उपत्यकाको फोहोरको जिम्मेवारी काठमाडौं महानगरपालिकाले मात्रै लिन नसक्ने बताइन् । ‘बन्चरेडाँडामा फालिएको फोहोर सबै महानगरको होइन, तर बढी दायित्व र प्रश्न महानगरमाथि मात्रै आइरहेको छ, हामीले हाम्रो तर्फबाट गर्नुपर्ने काम गरिरहेका छौँ,’ उनले भनिन्, ‘स्थानीयवासीले त अब काठमाडौंमा फोहोर काठमाडौंमै रोक्नुपर्छ भनेका छन्, २० वर्षभन्दा बढी समयका लागि बनाइएको ल्यान्डफिलसाइट पनि भरिन आँट्नु राम्रो होइन, हाम्रो फोहोर व्यवस्थापनको तरिका मिलेन, सबैले सबै प्रकारको फोहोर एकैठाउँ फालेर हुँदैन ।’

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले फोहोर व्यवस्थापन गर्नेबारे संघ सरकार नै बाधक बनेको आरोप लगाए । ‘कि त केन्द्र सरकारले लेखेरै यो स्थानीय सरकारको काम हो, यसरी फोहोर व्यवस्थापन गर भन्नुपर्‍यो, होइन भने फोहोर व्यवस्थापनमा स्थानीय तहलाई स्वायत्तता दिनुपर्‍यो, संघ सरकारले स्थानीय सरकारलाई प्रश्न गरेर मात्रै हुँदैन आवश्यक सहजीकरण पनि गर्नुपर्‍यो,’ उनले भने, ‘विवाद गरेर समस्याको समाधान निस्किँदैन ।’

बन्चरेडाँडाका स्थानीय रुपेश बस्नेतले भने, ‘फोहोरबाट मल तथा वैकल्पिक ऊर्जा उत्पादन गरेको भए दीर्घकालीन समाधान हुन्थ्यो, आफैँ वर्गीकरण गर्ने भनेर हालका प्रधानमन्त्रीले मेयर हुँदा योजना बनाउनुभयो तर पदमा पुगेपछि बेवास्ता गर्नुभयो ।’

हाल बन्चरेडाँडास्थित फोहोरको प्रत्यक्ष मारमा ककनी गाउँपालिकाका २ र ३ वडा र धुनिबेसी नगरपालिकाको एउटा वडा परेका छन् । यी वडाका करिब तीन सय मानिस प्रत्यक्ष रूपमा दुर्गन्धमै बस्न बाध्य छन् । उनीहरूले आफूहरूलाई अन्य स्थानमा स्थानान्तरणको मागसमेत गरिरहेका छन् । तर, सरकारले स्थानान्तरणबारे कुनै योजना नै तय गरेको छैन । 

‘सुत्दा र उठ्दा गन्धमै हुनुपर्ने अवस्था छ, गाईवस्तु पाल्न सकिएको छैन, न त कृषि उत्पादन नै हुन्छ,’ बस्नेतले भने, ‘यो ठाउँमा काठमाडौंले गरेको अन्याय अब रोकिनुपर्छ, हामीलाई जे–जस्तो सुविधा दिए पनि यस्तोमा बसेर जीवन बिताउन सकिँदैन ।’

यस क्षेत्रमा दैनिक २८० देखि तीन सय कन्टेनरबाट फोहोर विसर्जन गर्ने गरिन्छ । बन्चरेडाँडामा पुर्‍याएपछि पुनः प्रयोग गर्न मिल्ने फोहोर केही हदसम्म छुट्याइन्छ । तर, अन्य फोहोर धेरै हुँदा ल्यान्डफिल साइटले थेग्न नसक्ने अवस्था बन्न थालेको छ । स्थानीय श्रीराम ढुंगानाले पनि उपत्यकाको फोहोर बन्चरेडाँडामा रोक्ने गरी काठमाडौंका स्थानीय तहले काम गर्नुपर्ने बताए । 

फोहोर प्रभावित क्षेत्रमा महानगरको स्वास्थ्य चौकीदेखि बिमासम्मको सेवा
उपत्यकाका सबैजसो पालिकाको फोहोर बन्चरेडाँडामा विस्थापन गरिए पनि त्यस क्षेत्रमा आर्थिक सहयोग र अन्य सहयोग भने काठमाडौं महानगरपालिकाले मात्रै गर्दै आइरहेको छ । हाल महानगरपालिकाले ककनीमा २८ जना र धुनिबेसीमा २३ जना गरी ५१ जना सामुदायिक विद्यालयका शिक्षकको तलब दिने गरेको छ । तीन सय परिवारको स्वास्थ्य बिमा पनि महानगरले गरेको छ भने घातक रोगका बिरामीलाई एक लाखका दरले अनुदान दिँदै आइरहेको छ । त्यस्तै, ल्यान्डफिल्ड साइट क्षेत्रका विद्यालय भवन निर्माण र मर्मत तथा रंगरोगन गर्ने, एमबिबिएस डाक्टरसहित ककनी क्षेत्रमा स्वास्थ्य चौकी सञ्चालन पनि भइरहेको वातावरण विभाग प्रमुख सरिता राईले बताइन् ।

उनका अनुसार महानगरले धुनिबेसी नगरपालिका र ककनी गाउँपालिकालाई वार्षिक तीन–तीन करोड बजेट दिने गरेको छ । त्यस क्षेत्रमा खानेपानी र सडक पूर्वाधार निर्माण पनि महानगरले गरिदिएको छ । पशुपक्षी र बालीनाली क्षतिपूर्तिबापत सिसडोलमा ६५ लाख र बन्चरेडाँडामा एक करोड ५० लाख वार्षिक रूपमा वितरण गर्दै आइरहेको छ । महानगरले यस क्षेत्रमा चार सयभन्दा बढीलाई कुचीकार र चालकका रूपमा जागिरसमेत दिएको छ । ३६ जनालाई ल्यान्डफिल्ड साइटमै रोगजारी दिएको छ । महानगरले पटके श्रमिक लिँदा पनि त्यहीँकै मानिस लिने गरेको वातावरण विभाग प्रमुख राईको भनाइ छ । एक घर एक रोजगारी भन्यो भने महानगरपालिका दिन तयार छ । 

मेयर हुँदा योजना, प्रधानमन्त्री बनेपछि बेवास्ता 
हालका प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरका मेयर हुँदा फोहोर व्यवस्थापनबारे योजना सुनाउँथे । तर, अहिले चासो दिएका छैनन् । त्यतिखेर शाहका सचिवालयमा रहेका सुनिल लम्साल हाल पूर्वाधार विकासमन्त्री छन् । उनले त्यतिखेर बन्चरेडाँडाको अवलोकनसमेत गरेर उपत्यकाको फोहोर घटाउने र व्यवस्थापनबारे पटक–पटक छलफल गरेका थिए । फोहोर घटाउने प्रविधि प्रयोग गर्ने, वर्गीकरण गर्ने, मल बनाउन प्रविधि ल्याउनेलगायत योजना मेयर हुँदा अघि सारेका शाहले र उनकै टिमका लम्सालले अहिले त्यसतर्फ चासो दिएका छैनन् । पूर्वाधारमन्त्री बनेपछि लम्सालले एकपटक मात्रै फोहोर व्यवस्थापनबारे छलफल गरेका छन् । प्रधानमन्त्री शाहले पनि फोहोर व्यवस्थापनबारे कुनै योजना अघि सारेका छैनन् । 

टेकुमा वर्गीकरण गरेर फोहोर व्यवस्थापन गर्दै महानगरपालिका
काठमाडौं महानगरपालिकाले सानो एकाइमा भए पनि टेकुमा फोहोर व्यवस्थापन गर्दै आइरहेको छ । यहाँ महानगरले मेसिनबाट फोहोरलाई वर्गीकरण गर्ने र पेलेर थोरै बनाउने काम गर्छ । हाल महानगरका १० वटा वडाको फोहोर यहाँ लैजाने गरिन्छ । यो फोहोर महानगरले नै उठाउँछ । दैनिक पाँच ट्रक फोहोर यहाँ मेसिनको सहायताले पेलेर कम गराउँछ । त्यस्तै, यहाँ पुगेको फोहोर वर्गीकरण गरेर पुनः प्रयोग गर्न मिल्ने वस्तु छुट्याएर वार्षिक रूपमा महानगरले ७१ लाख आम्दानी गर्ने गरेको वातावरण विभाग प्रमुख सरिता राईको भनाइ छ । उनका अनुसार टेकुमा बायोग्यास प्लान्ट पनि छ । यो पनि सञ्चालन गर्ने तयारी गरिएको छ । जसबाट ऊर्जा उत्पादन गर्नुका साथै मल बनाउन सकिने विभाग प्रमुख राईको भनाइ छ । उनले टेकुमा जस्तै अन्य स्थानमा पनि बायोग्यास प्लान्ट र फोहोर वर्गीकरण गर्ने प्रविधि जडान गरेर फोहोर घटाइने बताइन् ।

एक किलो फोहोरमा दुई सय खर्च 
महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि गरेको खर्च निकै ठुलो छ । एकातर्फ फोहोरबाट मानव स्वास्थ्यमा असर परिरहेको छ भने अर्कातर्फ फोहोर व्यवस्थापन गर्ने प्रक्रियामा महानगरले ठुलो रकम खर्च गरेको छ । महानगरका अनुसार एक किलो फोहोरमा करिब दुई सय खर्च हुने गरेको छ । यो वातावरण विभागले गरेको अनुमानित तथ्यांक हो । अझ यसमा अध्ययन नै गरेर वास्तविक खर्च निकाल्ने विभाग प्रमुख राईको भनाइ छ । उनका अनुसार वार्षिक रूपमा फोहोर व्यवस्थापनसँग सम्बन्धित सबै प्रकारका कार्यमा करिब तीन अर्बभन्दा बढी खर्च हुने गरेको छ । अझ यसमा निजी क्षेत्रले समेत काम गरिरहेकाले त्यो खर्च पनि जोड्दा फोहोर व्यवस्थापनमा ठुलो रकम खर्च भइरहेको छ । फोहोर संकलन, ढुवानी, विसर्जन, वर्गीकरण, चालक, कुचीकार, फोहोर ढुवानीका साधनस्रोतलगायतमा बढी खर्च हुने गरेको छ । 

सुझावित समाचार