स्याङ्जा र उदयपुरमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । प्रहरीका अनुसार स्याङ्जा गल्याङ नगरपालिका– ८, करादीमा भएको जिप दुर्घटनामा दुईजनाको मृत्यु भएको हो भने १६ जना घाइते भएका छन् । त्यस्तै, उदयपुर बेलका नगरपालिका– ५ जहडामा अटो र बसआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।
स्याङ्जामा गल्याङदेखि साङलियातर्फ जाँदै गरेको ग१ज ६५३४ नम्बरको बोलेरो जिप उकालो घुम्तीमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो । स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार दुर्घटनामा गल्याङ– ९ का यमबहादुर विक र गल्याङ– ८ की सदीक्षा थापामगरको ज्यान गएको छ ।
त्यस्तै, उदयपुर बेलका नगरपालिका– ५ जहडामा सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को१ह ०६१३ नम्बरको अटो र अर्को दिशाबाट जाँदै गरेको स्कुलको को१ख ३५१६ नम्बरको बस ठोक्किएका थिए ।
दुर्घटनामा बेलका नगरपालिका– ५ की मन्दिरा मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका– ७ को डिया राई र अटोचालक बेलका– ५ मैनीका इन्द्र थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी गणेशबहादुर बमले बताए ।
घाइते बेलका नगरपालिका– ५ मैनीका रोशन मगर र विराटनगर महानगरपालिका– १२ का अजित गुरुङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । बसचालक बेलका नगरपालिका– ५ घुम्नेका विक्रम थापा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको नियन्त्रणमा छन् ।