नुवाकोटका पहिरोप्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा मन्त्री तिमिल्सिना

आइतबार, ७ भदौ, २०८३
डिजिटल संस्करण

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नुवाकोटका विभिन्न स्थानमा गएको पहिरो तथा त्यसबाट प्रभावित बस्तीको स्थलगत निरीक्षण गरेका छन्।

नुवाकोट क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका सञ्चारमन्त्री तिमिल्सिनाले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पञ्चकन्या, शिवपुरी र लिखु गाउँपालिकाका विभिन्न स्थानमा भदौ ४ र ५ गते राति परेको अविरल वर्षाका कारण भएको क्षतिको अवस्थाबारे जानकारी लिएका हुन्।

निरीक्षणका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले पहिरोप्रभावित बस्तीका स्थानीयवासीसँग भेटघाट तथा अन्तरक्रिया गरी उनीहरूको अवस्था, समस्या र आवश्यकताबारे जानकारी लिएका उनको सचिवालयले जनाएको छ। प्रभावित परिवारले पहिरोको जोखिमका कारण घरमा फर्केर बस्न सक्ने अवस्था नरहेको भन्दै सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन आग्रह गरेका थिए।

मन्त्री तिमिल्सिनाले स्थानीय सरकार र स्थानीय प्रशासनमार्फत भइरहेको उद्धार, राहत तथा व्यवस्थापनको अवस्थाबारे जानकारी लिए। उनले तत्कालीन राहत तथा व्यवस्थापनसँगै पहिरोको जोखिममा रहेका बस्तीको दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक पहल गर्ने बताए।

सुझावित समाचार