रोयल इन्फिल्डले नेपालको गोरखा परम्परा र वीरताको सम्मान गर्दै क्लासिक ३५० गोरखा एडिसन नेपाली बजारमा ल्याएको छ । गोरखा समुदायको साहस, दृढता र अदम्य भावनाबाट प्रेरित यो मोटरसाइकललाई नेपालको गौरवपूर्ण इतिहास र पहिचानसँग जोडेर तयार गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार विशेष गोरखा ग्रिन रङमा आएको मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिह्न राखिएको छ । क्लासिक ३५० को पुरानो र परिचित डिजाइनलाई कायम राख्दै यस संस्करणमा गोरखा विरासत झल्किने केही विशेष डिजाइन र फिचर थपिएको बताइएको छ ।
रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यादविन्दरसिंह गुलेरियाले क्लासिक ३५० नेपालका राइडरहरूमाझ लामो समयदेखि लोकप्रिय रहेको बताए । गोरखा एडिसनमार्फत नेपालको पहिचानसँग गहिरो रूपमा जोडिएको गोरखा विरासतलाई सम्मान गर्न पाएको उनले बताए । ‘गोरखा समुदाय विश्वभर साहस, बफादारी र सम्मानका लागि परिचित छ,’ उनले भने, ‘यो संस्करणमार्फत त्यही विरासतलाई क्लासिकको मौलिक पहिचानसँग जोड्ने प्रयास गरेका छौँ ।’
नेपालका लागि रोयल इन्फिल्डका आधिकारिक वितरक अल्फा अटोमोटिभका प्रबन्ध–निर्देशक हर्षवर्धन संघाईले क्लासिक ३५० ले नेपाली मोटरसाइकल पारखीमाझ विशेष स्थान बनाइसकेको बताए । गोरखा एडिसन नेपालको पहिचानसँग जोडिएको इतिहास र मूल्यलाई नयाँ ढंगले प्रस्तुत गर्ने प्रयास भएको उनको भनाइ छ ।
क्लासिक ३५० गोरखा एडिसनमा क्लासिक सिरिजकै परिचित अपराइट राइडिङ पोस्चर, डिजाइन र जे–सिरिज इन्जिन दिइएको छ । यसको मूल्य पाँच लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।