- सिनियर टिमबाट खेलिसकेका कप्तान अनिलकुमार शाहसँगै कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बमजस्ता खेलाडीले नेपाल ‘ए’बाट खेले पनि सन्तोषजनक नतिजा निस्किन सकेन
नेपाल ‘ए’ टिमले अस्ट्रेलियामा चलिरहेको टप एन्ड टी– २० सिरिजमा लगातार दोस्रो खेलमा हार व्यहोरेको छ । शनिबार डार्विनस्थित डिएक्ससी एरिनामा सम्पन्न खेलमा नेपाल ‘ए’ बंगलादेश हाई पर्फर्मेन्स टोलीसँग नौ विकेटले पराजित भयो । लगातार दोस्रो खेलमा नेपालले ब्याटिङ र बलिङ दुवैका कमजोर प्रदर्शन गर्दै हार व्यहोरेको हो ।
कप्तान अनिलकुमार शाहले टस हारेपछि नेपालले सुरुमा ब्याटिङ गर्ने जिम्मेवारी पायो । कमजोर ब्याटिङ गरेको नेपालले २० ओभर नै खेलेपनि नौ विकेट गुमाएर मात्र एक सय रनको लक्ष्य दिएको थियो । सामान्य लक्ष्य पाएको बंगलादेश एचपीले १०.२ ओभरमा मात्र एक विकेट गुमाउँदै प्रतियोगितामा पहिलो जित निकाल्यो । नेपाल भने लगातार दोस्रो हार व्यहोर्न पुगेको छ । पहिलो खेलमा पनि नेपालको ब्याटिङ र बलिङ दुवै नचल्दा एनटी स्ट्राइकसँग आठ विकेटले पराजित भएको थियो ।
अब, नेपालले एकदिनको विश्रामपछि तेस्रो खेल अगस्ट २४ (सोमबार)मा होबर्ट हुरिकान्सविरुद्ध हुनेछ । त्यस्तै, चौथो खेल अगस्ट २६ (बुधबार)मा एसिटी कोमेट्सविरुद्ध हुने तालिका छ । पाँचौँ खेल अगस्ट २७ (बिहीबार)मा किङ्सम्यानविरुद्ध हुनेछ भने अगस्ट २९ (शनिबार)मा नै भिक्टोरियाविरुद्ध हुने कार्यक्रम छ ।
गत संस्करण नेपालले रोहितकुमार पौडेलको कप्तानीमा प्रतियोगिता खेलेको थियो । आठौँ स्थान हासिल गर्ने क्रममा नेपालले ६ मध्ये दुई खेल मात्रै जितेको थियो । यसपटक सिनियर टिमले एसिसी प्रिमियर कप खेल्ने भएपछि नेपाल ‘ए’ टिम यो प्रतियोगितामा सहभागी भएको हो । सन्दीप लामिछानेको कप्तानीमा सिनियर टिमले मलेसियामा एसिया कप छनोट खेल्दै छ ।
लगातार सिनियर टिमका कमजोर प्रदर्शनपछि कप्तान अनिलसँगै कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बमजस्ता खेलाडी नेपाल ‘ए’ बाट खेलिरहेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले अनिल, भुर्तेल, मल्ल, र लोकेशसँगै राष्ट्रिय टिमबाट खेलिसकेका आकाश चन्द, रिजन ढकाल, र साहब आलमलाई ‘ए’ टिममा समावेश गरेको छ ।
बंगलादेशका आलमको अर्धशतक
बंगलादेश एचपीको जितमा ओपनर सिसन आलमले अर्धशतक बनाए । उनले २९ बलमा अविजित ५२ रन बनाएका हुन् । उनले तीन चौका र चार छक्का हिर्काएका थिए । त्यस्तै, तेस्रो नम्बरका ब्याटर अरिफुल इस्लाम पनि अविजित ३४ रन बनाए । उनले २७ बलमा तीन चौका र एक छक्का प्रहार गरेका थिए । अर्का ओपनर हबिबुर रहमान सोहन भने मात्र सात रन बनाएर आउट भए । ६ बलमा एक चौका हिर्काएका उनलाई साहब आलमले कप्तान तथा विकेटकिपर अनिलबाट क्याच गराएका थिए । नेपालका लागि एक मात्रै विकेट साहबले लिएका हुन् । साहबले ३.२ ओभरमा २७ रन खर्चिएका थिए । दुई ओभर बलिङ गरेको विपिन खत्री र पवन सर्राफ तथा समान एक ओभर बलिङ पाएका रिजन ढकाल, कुशल भुर्तेल र आकाश चन्द पनि विकेट झार्न सफल भएनन् ।
रुवेलको चार विकेट
नेपालको ब्याटिङ ध्वस्त बनाउन बंगलादेशका मोहम्मद रुवेलले चार विकेट लिए । उनले चार ओभरमा मात्र १८ रन खर्चिएका थिए । ३० वर्षीय खेलाडीले नेपालका कप्तान अनिल, कुशल मल्ल, लोकेश बम र भुर्तेलको महत्वपूर्ण विकेट लिएका थिए । त्यस्तै, रोहनत बोर्सन, रिपोन मोन्डोल र समिउन बसिरले समान एक विकेट लिएका थिए ।
नेपालका कुशल मात्रै चले
टस हारेर ब्याटिङ गरेको नेपालको इनिङ्समा कुशल भुर्तेलले मात्रै ४६ रन बनाए । उनले ४० बलमा तीन चौका र एक छक्का हिर्काएका थिए । पहिलो खेलमा उनी पनि डकआउट हुनपुगेका थिए । अन्य खेलाडीले ठुलो स्कोर बनाउनै सकेनन् । सातजना खेलाडीले दोहोरो अंकमा रन नै बनाएनन् । शीर्षक्रम नै चल्न सकेन । मध्यक्रमले पनि कुनै योगदान गर्न सकेनन् ।
कप्तान अनिल र अर्का आशा गरिएका ब्याटर पवन दुवै डकआउट भएका थिए । ओपनर तृतराज दास मात्र ६ रन बनाएर आउट भएका थिए । अर्का आशा गरिएको हिटर कुशल मल्ल पनि मात्र एक रन बनाएर पेभिलियन फर्किए । लगातार खराब प्रदर्शन जारी राखेका उनले पहिलो खेलमा मात्र नौ रन बनाएका थिए ।
लोकश बम पनि मात्र दुई रन बनाउन पुगे । पहिलो खेलमा लोकेशले १६ रनको योगदान गरेका थिए । लोकेश ३.६ ओभरमा आउट हुँदा नेपालले मात्र १३ रन जोडेको थियो । त्यतिवेलासम्म महत्वपूर्ण पाँच विकेट गुमाएपछि दबाबमा आएको हो । भुर्तेलले एकतर्फबाट इनिङ्स बढाएका थिए । तर, उनलाई अर्कोतर्फबाट कुनै पनि खेलाडीले साथ दिएनन् । १५.२ ओभरमा नेपालले आठ विकेट गुमाएर ७५ रन बनाउँदा भुर्तेल आउट भएका थिए । त्यसपछि साहब आलमले ११, नारायण जोशीले एक तथा रिजन ढकालले १० रन बनाएर रन आउट भए । विपिन खत्री ११ तथा आकाश चन्द पाँच रन बनाएर अविजित रहेका थिए ।