- सातदोबाटोस्थित राखेपको स्विमिङ पुलपरिसरमा प्रहरीबाहेक ४२ सहिदको मात्रै सालिकसहितको पार्क बन्दै थियो । प्रहरी प्रधान कार्यालयको अनुरोधपछि सहिद प्रहरीको पनि सँगै सालिक राखिने भएको छ ।
जेन–जी आन्दोलनमा मृत्यु भएका ४२ सहिदसँगै नेपाल प्रहरीका तीनजनाको सालिक पनि निर्माण गर्न थालिएको छ । सरकारले जेन–जी आन्दोलनमा मारिएका तीन प्रहरीसहित ४५ जनालाई सहिद घोषणा गरेकामा राष्ट्रिय खेलकुद परिषद् (राखेप)स्थित स्विमिङ पुलपरिसरमा प्रहरीबाहेक ४२ सहिदको मात्रै सालिकसहितको पार्क बन्दै थियो । तर, प्रहरीसँग पर्याप्त समन्वय र सहकार्य नहुँदा यस्तो भएको भन्दै अब प्रहरीको सालिक पनि सँगै बनाउन थालिएको हो ।
प्रहरीबाहेक ४२ सहिदको सालिकसहित पार्क धमाधम बनिरहेको समाचार शुक्रबार नयाँ पत्रिकामा प्रकाशन भएको थियो । शुक्रबारै प्रहरी प्रधान कार्यालयले खेलकुद मन्त्रालय र सालिक निर्माणमा खटिएका सहजकर्तासँग सहिद प्रहरीको पनि सालिक बनाउन अनुरोध गरेको थियो ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले आफूहरूको पहलपछि सहिद प्रहरीको पनि सालिक बनाउन थालिएको बताए । ‘मैले शनिबार त्यहाँ पुगेर निरीक्षण पनि गरेँ, अन्य सहिदको सँगै प्रहरी सहिदको पनि सालिक बनाउन थालिएको छ,’ उनले भने, ‘राज्य जोगाउन खटिँदा ज्यान गुमाउने सहिद प्रहरी सधैँ अमर रहन्छन् ।’
यसअघि गोली लागेर ज्यान गुमाउने ४२ जनाको मात्रै सालिक बनाउन थालिए पनि नेपाल प्रहरीबाट अनुरोध भएपछि तीन प्रहरी सहिदको पनि सालिक बनाउन थालिएको सहजकर्ता अर्जुन थापाले बताए । ‘सुरुमा ४२ जनाको बनायौँ, नेपाल प्रहरीले आफ्नै कार्यालय परिसरमा बनाउँछ भन्ने थियो, तर ठाउँ साँघुरो भएर त्यहाँ बनाउन नसक्ने भएपछि सबै सहिदको सँगै सालिक बनाउन थालिएको हो,’ उनले भने, ‘४५ सहिदको सालिक पार्कमा लस्करै राखिन्छ ।’
शनिबारसम्म ४२ सहिदका सालिक बनिसकेका छन् भने प्रहरी सहिदको सालिका पनि बनाउन थालिएको छ । सालिकसहितको पार्क जेन–जी आन्दोलनकै वर्ष दिन पारेर २३ भदौमा उद्घाटन गर्ने योजना छ ।