खेल सम्पन्न भएको साँढे २ महिनापछि धनकुटामा भएको १८ औँ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ । प्रतियोगिताको खर्च सार्वजनिक गर्न आयोजकले ढिलाइ गरेको भन्दै धनकुटाका सञ्चार माध्यममा पटक–पटक समाचार सम्प्रेषण भएपछि आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानले औपचारिक कार्यक्रम आयोजना गरी आय–व्यय सार्वजनिक गरेको हो ।
प्रतियोगिता आयोजक समितिका संयोजक शम्भु प्रधानले प्रतियोगिताबाट ४२ लाख ८० हजार ५ सय ७ रुपैयाँ आम्दानी भएको र ३५ लाख ९८ हजार १ सय १६ रुपैयाँ खर्च भएको बताए । विभिन्न संघसंस्था, उद्योगी–व्यवसायी तथा खेलप्रेमीबाट प्रतियोगिताका लागि प्रतिबद्धता जनाइएको १८ लाख २५ हजार ३ सय रुपैयाँ उठ्न बाँकी छ । उक्त रकम उठेमा शहीद भीमनारायण स्मृति प्रतिष्ठान ६ लाख ८२ हजार ३ सय ९१ रुपैयाँ नाफामा जानेछ ।
संयोजक प्रधानका अनुसार प्रतियोगिताको आम्दानीतर्फ धनकुटा नगरपालिकाबाट १३ लाख रुपैयाँ, पाख्रीबास नगरपालिकाबाट ९८ हजार १ सय ४ रुपैयाँ, छथर जोरपाटी गाउँपालिकाबाट ९८ हजार १ सय ७० रुपैयाँ, सहिदभूमि गाउँपालिकाबाट ९७ हजार १ सय ७७ रुपैयाँ, महालक्ष्मी नगरपालिकाबाट ६८ हजार ९ सय ५० रुपैयाँ र साँगुरीगढी गाउँपालिकाबाट १ लाख रुपैयाँ प्राप्त भएको आयोजकले जनाएको छ । त्यसैगरी प्रदेश खेलकुद विकास बोर्डबाट ७ लाख रुपैयाँ, राष्ट्रिय खेलकुद परिषदबाट १ लाख रुपैयाँ, धनकुटा नगरपालिकाका–५, ६, ७ र १० बाट ६४ हजार रुपैयाँ, एन पेनाङ क्लब मलेसियाबाट ३ लाख रुपैयाँ, एक्सट्रिम इनर्जी काठमाडौँबाट ३ लाख ८२ हजार ५ सय रुपैयाँ र गोर्खा ब्रुअरी टुबोर्गबाट ४० हजार रुपैयाँ प्राप्त भएको आयोजकले बताएको छ ।
त्यसैगरी एनी क्लोथ झापाबाट ३५ हजार रुपैयाँ, बैंक तथा वित्तीय संस्थाबाट ६ लाख ९५ हजार रुपैयाँ, संघसंस्था तथा कार्यालयबाट १ लाख १ हजार रुपैयाँ, शैक्षिक संस्थाबाट ५७ हजार ५ रुपैयाँ, उद्योगी–व्यापारी तथा खेलप्रेमीबाट ३ लाख ६८ हजार ४ सय ५ रुपैयाँ र दोस्रो पुरस्कार विजेता रकम बापत ३ लाख रुपैयाँ आम्दानी भएको जनाइएको छ । खर्चतर्फ खेलाडीको दैनिक भत्तामा ३ लाख ६८ हजार रुपैयाँ, निर्णायकको दैनिक भत्ता तथा यातायात खर्चमा ३ लाख १ हजार ५ सय ९० रुपैयाँ, पुरस्कारमा ९ लाख रुपैयाँ, व्यक्तिगत नगद पुरस्कारमा १ लाख २८ हजार ७ सय ३१ रुपैयाँ र गोल नेपाल डटकममा प्रत्यक्ष प्रशारण गर्दा ४५ हजार रुपैयाँ खर्च भएको छ ।
त्यस्तै कप, मेडल तथा खेल सामग्रीमा १ लाख ३ हजार ३० रुपैयाँ, प्रमाण–पत्र तथा मायाको चिनोमा ६६ हजार ९ सय २५ रुपैयाँ, ब्यानर तथा पोस्टर छपाइमा ४० हजार १५ रुपैयाँ, साउण्ड सिस्टममा ३० हजार रुपैयाँ, मैदान व्यवस्थापनमा एक लाख २७ हजार ८ सय ७५ रुपैयाँ, बल ब्वाई तथा कामदारमा ३३ हजार नाै सय रुपैयाँ र पोशाक खरिदमा ६५ हजार ८ सय रुपैयाँ खर्च भएको छ । आतिसबाजी तथा अन्य सामग्री खरिदमा ३६ हजार ५० रुपैयाँ, चिया–नास्ता तथा विविध खर्चमा एक लाख ७१ हजार दुई सय रुपैयाँ र दोस्रो पुरस्कार विजेता खेलाडीलाई प्रोत्साहन बापत एक लाख ८० हजार रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ ।
शहीद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटाले जिल्ला समन्वय समिति धनकुटाकी उपप्रमुख सावित्रा राईको प्रमुख आतिथ्यमा प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक गरेको थियो । सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपाने, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई, भीमदल गणका सेनानी मन्दिप राई, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक राजेश फुयल, राष्ट्रिय अनुसन्धान धनकुटाका प्रमुख रामेश्वर बस्नेत, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राईलगायतको सहभागीता रहेको थियो ।