सुरक्षित र सफल यात्राका लागि यस्तो तयारी

शनिबार, ६ भदौ, २०८३
डिजिटल संस्करण

घरबाहिर निस्किनेबित्तिकै हाम्रो यात्रा सुरु हुन्छ । हामी कुनै न कुनै गन्तव्य तय गरेर यात्रामा निस्कन्छौँ । तर, हरेक यात्रा योजनाअनुसार नै सम्पन्न हुन्छ भन्ने हुँदैन । कहिलेकाहीँ मौसम, स्वास्थ्य, प्राकृतिक अवस्था वा अन्य कारणले गन्तव्यमा नपुग्दै फर्किनुपर्ने अवस्था पनि आउन सक्छ । त्यसैले यात्राको सफलता गन्तव्यमा पुग्नु मात्र होइन, सुरक्षित रूपमा फर्किनु पनि हो ।

नेपाल प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले धनी देश हो । नेपालका अधिकांश पर्यटकीय गन्तव्य गाउँबस्तीमा छन्, जहाँ स्थानीय समुदायले आफ्ना मौलिक परम्परा, भाषा, रहनसहन र संस्कृतिलाई आज पनि जोगाइरहेका छन् । त्यसैले यात्रा गर्दा स्थानीय संस्कृति, धार्मिक आस्था र सामाजिक मूल्य–मान्यताको सम्मान गर्नु अत्यन्त आवश्यक हुन्छ ।

यात्रामा निस्कनुअघि गन्तव्यको भौगोलिक अवस्था, मौसम, धार्मिक तथा सामाजिक परिवेशबारे जानकारी लिनुपर्छ । कतिपय समुदायका आफ्नै परम्परागत नियम हुन्छन् । ती नियमको बेवास्ता गर्दा स्थानीयसँग असहज अवस्था सिर्जना हुन सक्छ । यात्रा रमाइलो बनाउन स्थानीय संस्कृतिलाई सम्मान गर्ने र आफूलाई त्यही परिवेशअनुसार ढाल्ने बानी बसाल्नुपर्छ ।

यात्राको अर्को महत्वपूर्ण पक्ष स्वास्थ्य हो । स्वस्थ भएर यात्रा सुरु गरे पनि यात्राकै क्रममा स्वास्थ्य समस्या देखिन सक्छ । विशेष गरी, धेरैजसो मानिसको एउटा कमजोरी भनेको छोटो समयमा धेरै दूरी पार गर्ने हतारो हो । पहिलो दिन अत्यधिक हिँड्ने र धेरै उचाइ पार गर्ने प्रयास गर्दा शरीर थाक्छ र त्यसको असर अर्को दिन देखिन थाल्छ ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा यात्रा गर्दा उचाइसँग शरीरलाई बिस्तारै अभ्यस्त गराउनु अत्यन्त आवश्यक हुन्छ । सामान्यतया, दुई हजार मिटरभन्दा कम उचाइमा बस्ने व्यक्ति एकैदिन तीन वा चार हजार मिटर उचाइमा पुग्ने प्रयास गर्नु उचित हुँदैन । शरीरलाई नयाँ वातावरणसँग घुलमिल हुन समय चाहिन्छ । यही कारणले उच्च हिमाली क्षेत्रमा एक दिनमा एक हजार मिटरभन्दा बढी उचाइ नबढाउने । यसले ‘अल्टिच्युड सिकनेस’को जोखिम कम गर्छ ।

उच्च हिमाली गन्तव्यमा यात्रा गर्दा बिचबिचमा विश्राम गर्ने र निश्चित स्थानमा रात बिताउने व्यवस्था त्यसैका लागि गरिएको हो । यात्रा छिट्टै सक्नेभन्दा पनि शरीरलाई वातावरणसँग अभ्यस्त बनाउँदै अघि बढ्नु नै सुरक्षित यात्रा हो ।

यात्रामा खानपान पनि उत्तिकै महत्वपूर्ण हुन्छ । बिहान लामो समयसम्म ऊर्जा दिने पोषिलो र आडिलो खाजा खानुपर्छ । पहाडी पदयात्रामा दिउँसो खाना खाने स्थान वा समय निश्चित नहुन सक्छ । कहिले दुई–चार घण्टा ढिलो हुन सक्छ भने कहिलेकाहीँ खानाको व्यवस्था नै नहुन सक्छ । त्यसैले झोलामा चकलेट, बिस्कुट, काजु, बदाम, किसमिसलगायत ऊर्जा दिने ड्राइफुड अनिवार्य रूपमा राख्नुपर्छ । यस्ता खानेकुराले तत्काल ऊर्जा दिन्छन् र आवश्यक परे एक छाक भोजनको विकल्प पनि बन्न सक्छ ।

बेलुकाको खानामा झोलिलो परिकार समावेश गर्नु राम्रो हुन्छ । यसले शरीरमा पानीको मात्रा सन्तुलित राख्न मद्दत गर्छ । चिसो क्षेत्रमा धेरैलाई पानी पिउन मन लाग्दैन, त्यसैले तातोपानी वा चियाको मात्रा बढाउनु उपयोगी हुन्छ । पर्याप्त पानी नपिउँदा शरीरमा पानीको कमी हुने र उचाइजन्य समस्या बढ्ने जोखिम रहन्छ । यात्राका क्रममा मदिराजन्य पदार्थको सेवन सकेसम्म नगर्नु राम्रो हुन्छ । 

मेरो अनुभवमा सफल यात्रा भनेको धेरै दूरी पार गर्नु होइन, सुरक्षित रूपमा प्रकृतिसँग घुलमिल हुनु, स्थानीय संस्कृतिको सम्मान गर्नु र स्वस्थ शरीर लिएर खुसीपूर्वक घर फर्किनु हो । 
 

See More On

सुझावित समाचार