साढे दुई दशकपछि हेटौँडा कपडा उद्योगमा पुन: गुञ्जियो मेसिनको आवाज (फोटोफिचर)

शनिबार, ६ भदौ, २०८३
डिजिटल संस्करण

साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगमा पुनः उत्पादनको आशा पलाएको छ । प्रारम्भिक परीक्षण उत्पादन सफल भएपछि अहिले ३ वटा अटोमेटिकसहित १४ वटा मेसिन उत्पादनकाे चरणमा रहेका छन्।

सरकारले उद्योगको मर्मत, पुनःस्थापना र सञ्चालनको जिम्मेवारी नेपाली सेनालाई दिएपछि उद्योग पुनर्जीवनको प्रक्रियाले गति लिएको हो। हाल नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब ४० जना प्राविधिक तथा विभिन्न दर्जाका सैनिक उद्योग सञ्चालनको तयारीमा खटिएका छन्।

लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका मेसिन, उपकरण र उत्पादन लाइनको मर्मतपछि परीक्षण उत्पादन सफल भएकाले उद्योग पुनः सञ्चालनको दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। बाँकी उपकरणको मर्मत सम्पन्न भएपछि उत्पादन क्षमता थप विस्तार गरिने तयारी गरिएको छ।

हेटौँडा कपडा उद्योग कुनै समय नेपालकै प्रमुख सरकारी उद्योगमध्ये एक मानिन्थ्यो। उद्योग सञ्चालनमा रहेका बेला करिब १,२०० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए। उद्योगले सुती धागो, कोरा, रंगीन, बुट्टेदार तथा सेतो कपडासहित नेपाली सेनालाई आवश्यक पर्ने कपडासमेत उत्पादन गर्दै आएको थियो।

तर, २०४६ सालपछिको राजनीतिक अस्थिरता, बारम्बारको बन्द–हडताल, व्यवस्थापकीय कमजोरी र बढ्दो आर्थिक घाटाका कारण उद्योग संकटमा पर्दै गएको थियो। अन्ततः २०५७ माघ १८ गते उद्योग बन्द गर्ने निर्णय गरिएको थियो। त्यसयता उद्योग पूर्ण रूपमा बन्द रहँदै आएको थियो।

स्वदेशमै कपडा उत्पादन गर्ने उद्देश्यसहित २०३२ भदौ ३० गते कम्पनी दर्ता गरिएको उद्योगको सोही वर्ष पुसमा शिलान्यास भएको थियो। २०३५ कात्तिकबाट परीक्षण उत्पादन सुरु भएको उद्योगको २०३५ माघ ५ गते औपचारिक उद्घाटन गरिएको थियो।

उद्योग पुनः सञ्चालनमा आएपछि मकवानपुरसहित आसपासका जिल्लामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। साथै स्वदेशमै कपडा उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न, औद्योगिक उत्पादन विस्तार गर्न तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन पनि यसले योगदान पुग्ने विश्वास गरिएको छ।

हेर्नुस् केही तस्बिरहरू

सुझावित समाचार