स्टिलका भाँडा निर्यातमा झन्डै सय गुणा वृद्धि

शनिबार, ६ भदौ, २०८३
डिजिटल संस्करण
  • गत वर्षको साउनमा एक करोड १७ लाखको निर्यात भएका स्टिलका भाँडा चालू आर्थिक वर्षको एक महिनामा एक अर्ब १६ करोडबराबरको निकासी

चालू आर्थिक वर्ष ०८३/८४ को पहिलो महिना साउनमा नेपालको वस्तु निर्यातमा उच्च वृद्धि देखिएको छ । साउनमा नेपालमा उत्पादन भएका स्टिनलेस स्टिलका घरायसी सामग्रीको निर्यात झन्डै सय गुणाले बढेको छ । चालू आवको पहिलो महिना एक अर्ब १५ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको स्टिनलेस स्टिलका भाँडा निर्यात भएको भन्सार विभागको तथ्यांक छ । गत आवको पहिलो महिनामा एक करोड १७ लाख ६४ हजार रुपैयाँको मात्रै स्टिनलेस स्टिलका घरायसी सामग्री निर्यात भएको थियो । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकले समग्रमा निर्यातमा स्टिलका भाँडा चौथो स्थानमा रहेको छ ।

केही समयअगाडिसम्म तेस्रो मुलुकको कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गरेका स्टिलका भाँडा निर्यातमा भारतले कडाइ गरेको थियो । जसले गर्दा भैरहवा सेजमा रहेका उद्योग संकटमा परेका थिए । भारतले रोक लगाउँदा सेजको नियमअनुसार ७० प्रतिशत सामान निर्यात गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण उद्योगहरू समस्यामा परे । तर, पछिल्लो समय भारत सरकारले चिनियाँ कच्चा पदार्थबाट उत्पादित सामान पनि निर्यातको बाटो खुला गरेपछि स्टिलका भाँडा उत्पादन गर्ने उद्योग भिस्टाराले अहिले राम्रो निर्यात गरिरहेको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले बताए । भैरहवामा रहेको विशेष आर्थिक क्षेत्रबाट पञ्चकन्या समूह र भिस्टारा ग्लोबलले स्टिलजन्य सामान निर्यात गर्दै आएकामा पञ्चकन्या समूहले सेजबाट उद्योग नै बन्द गरेर हिँड्नुपर्ने अवस्था आयो । भिस्टाराले निर्यात गर्दै आइरहेको आचार्यले बताए ।

निर्यात ६१ प्रतिशत वृद्धि
समग्रमा भने नेपालको निर्यात व्यापार साउनमा ६१.७२ प्रतिशतको वृद्धि देखाएको छ । गत आवमा निर्यात १३.८१ प्रतिशतले बढेर तीन खर्ब १५ अर्ब २९ करोड चार लाख ७४ हजार रुपैयाँ पुगेको थियो । त्यसमा साउनमा २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार रुपैयाँको वस्तु निर्यात भएको थियो । चालू आवको साउनमा भने ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार रुपैयाँको वस्तु निर्यात भएको तथ्यांकमा उल्लेख छ ।

धेरै वस्तु निर्यात हुनेमा पहिलो स्थानमा भटमास तेल रहेको छ । समीक्षा महिनामा १७ अर्ब ९९ करोड ३४ लाख ५५ हजारको भटमास तेल निर्यात भएको छ, गत आवको सोही महिनाको तुलनामा ६६.२२ प्रतिशतले बढी हो । गत साउनमा १० अर्ब ६९ करोड ५८ लाख ४० हजारको निर्यात भएको थियो ।

दोस्रो नम्बरमा रहेको प्रशोधित पाम ओलिन एक महिनामा एक अर्ब २९ करोड २९ लाख ३९ को निर्यात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ९२.६१ प्रतिशतले बढी हो । गत आवको साउन महिनामा ६७ करोड १२ लाख ३८ हजार रुपैयाँको निर्यात भएको थियो ।

तेस्रो स्थानमा भने सूर्यमुखी बिउ तथा कुसुमको तेल एक अर्ब २० करोड ७५ लाख ४७ हजारको यस्तो वस्तु निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ८५.३४ प्रतिशतले धेरै हो । गत आवको यसै अवधिमा ६५ करोड १४ लाख ९८ हजारको निर्यात भएको थियो ।

पाँचौँ स्थानमा रहेको फेब्रिक तथा फाइबरबाट बुनेका कपडाको निर्यात एक अर्ब ६ करोड ६२ लाख ९५ हजारको भएको छ । यो गत आवको तुलनामा १९५.१० प्रतिशतले धेरै हो । गत आवको साउनमा ३६ करोड १३ लाखको निर्यात भएको थियो ।

३१.०४ प्रतिशतले बढ्यो आयात
समीक्षा अवधिमा वस्तु आयात भने ३१.०४ प्रतिशतले बढेको छ । गत आवको समीक्षा महिनामा एक खर्ब ४३ अर्ब चार करोड ६ लाख ६९ हजार रुपैयाँको वस्तु आयात भएको थियो । चालू आवको साउनमा एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार रुपैयाँको वस्तु आयात भएको छ ।

समीक्षा अवधिमा कच्चा सोयाबिन तेलको आयात सबैभन्दा धेरै १८ अर्ब ४० करोड ४२ लाख ८८ हजार रुपैयाँको भएको छ । जुन गत आवको यसै अवधिको तुलनामा ७०.२५ प्रतिशतले धेरै हो । गत आवको साउनमा १० अर्ब ८० करोड ९५ लाख ७० हजारको आयात भएको थियो ।

दोस्रो स्थानमा रहेको डिजेल समीक्षा अवधिमा १३ अर्ब ८५ करोड ४५ लाख ४६ हजार रुपैयाँको डिजेल आयात भएको छ । यो गत आवको साउन महिनाको तुलनामा १३५.३१ प्रतिशतले धेरै हो । गत आवमा पाँच अर्ब ८८ करोड ७७ लाख ५९ हजार रुपैयाँको डिजेल आयात भएको थियो ।

यस्तै, तेस्रो स्थानमा रहेको खाना पकाउने ग्यासको आयात ८१.४९ प्रतिशतले बढेको छ । गत आवको साउनमा चार अर्ब ६६ करोड ६४ लाख ६८ हजार रुपैयाँको ग्यास आयात भएको थियो । यसपालि आठ अर्ब ४६ करोड ९२ लाख २९ हजारको ग्यास आयात भएको छ । यस्तै, डिएपी मल सात अर्ब ८६ करोड ९३ लाख रुपैयाँको आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ६९ प्रतिशतले बढी हो । गत आवको यसै अवधिमा आयात चार अर्ब ६५ करोड ६४ लाख ७० हजार रुपैयाँ थियो । पाँचौँ नम्बरमा भने पेट्रोलको आयात १९.२५ प्रतिशतले बढेको देखिन्छ । गत आवको पहिलो महिनामा पाँच अर्ब ७७ करोड १४ लाख ४० हजारको आयात भएकोमा चालू आवको साउनमा ६ अर्ब ८८ करोड २४ लाखको आयात भएको तथ्यांकमा उल्लेख छ ।

बढ्यो व्यापार घाटा
समीक्षा अवधिमा व्यापार घाटा भने २४.८८ अर्ब रुपैयाँले बढेको छ । गत आवको साउनमा एक खर्ब १९ अर्ब १० करोड ८२ लाख २८ हजार रुपैयाँको व्यापार घाटा थियो । तर, यसपालि एक खर्ब ४८ अर्ब ७३ करोड ९४ लाख ७७ हजारको व्यापार घाटा भएको छ ।

सुझावित समाचार