सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) ले मध्यपूर्वमा घिउ निर्यात सुरु गरेको छ । शुक्रबार दुबईका लागि पाँच सय किलो घिउ निर्यात भएको डिडिसीका महाप्रबन्धक डा. शरण पाण्डेले जानकारी दिए । ‘मध्यपूर्वका सबै देशमा डिडिसीको घिउ निर्यात गर्ने गरी निजी क्षेत्रसँग सम्झौता भइसकेको छ,’ उनले भने, ‘शुक्रबार पहिलो चरणमा दुबईका लागि पाँच सय किलो निर्यात भएको हो ।’
उनका अनुसार वार्षिक ५० हजार किलो निर्यातको लागि सम्झौता भइसकेको छ । महाप्रबन्धक पाण्डेका अनुसार केही समयपछि जापान र दक्षिण कोरियामा समेत घिउ निर्यात हुनेछ । ‘जापान र दक्षिण कोरियामा घिउ बजारीकरणका लागि स्थानीय बजारमा बिक्रेता नियुक्ति गर्नेलगायतका कामहरू भइसकेका छन् । साथै, हाम्रो घिउको सबै प्रमाणीकरणको कामहरू सकिएपछि जापान र दक्षिण कोरियामा पनि निर्यात हुनेछ,’ उनले भने ।
घिउ उत्पादन कम भएकाले पहिलो वर्ष ५० टन निर्यातका लागि मात्रै सम्झौता भएको उनले बताए । उत्पादन बढाएपछि विदेशमा निर्यात हुने परिमाण पनि वृद्धि हुने उनले बताए । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नेतृत्व गरेयता डिडिसीको कारोबार बढिरहेको छ । जसकारण किसानको बक्यौता भुक्तानीमा पनि उल्लेख्य प्रगति भइसकेको छ ।