जुनीचाँदेमा पहिरोमा परेर दुईजना बेपत्ता, तीनवटै सुरक्षा निकाय परिचालन

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण

जाजरकोटको जुनीचाँदे गाउँपालिकामा अविरल वर्षापछि आएको बाढी तथा पहिरोमा परेर दुईजना बेपत्ता भएका छन् । जुनीचाँदे गाउँपालिका– ६, डोग्रामा डोग्राखोला थुनिएर एक्कासि फुट्दा पानीको बहावमा परी ६४ वर्षीय देवबहादुर सिंह बेपत्ता भएका छन् भने सोही वडाको छिर्का टोलकी करिब ३९ वर्षीया रचना थापा सेती खोलाले बगाउँदा बेपत्ता भएकी हुन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख बुद्धिसागर पुरीका अनुसार बुधबार साँझ करिब ७ बजे गोठबाट घरतर्फ फर्कने क्रममा जुनीचाँदे– ६ छिर्का टोलकी  थापालाई सेती खोलाले बगाउँदा उनी बेपत्ता भएकी थिइन्। घटनाबारे बिहीबार बिहान करिब १० बजे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। घटनास्थल प्रहरी चौकी गर्खाकोटबाट करिब तीन घण्टा पैदल दूरीमा रहेको जनाइएको छ।

त्यसैगरी शुक्रबार बिहान करिब २ बजे परेको अविरल वर्षाका कारण जुनीचाँदे– ६, डोग्रास्थित डोग्राखोला थुनिएर जम्मा भएको पानी एक्कासि फुट्दा पानीघट्ट सञ्चालन गर्न गएका स्थानीय ६४ वर्षीय देवबहादुर सिंह सम्पर्कविहीन भएका हुन्। बाढीले सोही स्थानमा रहेका आठदेखि १० वटा पानी घट्टसमेत बगाएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी शुक्रबार बिहान करिब ९ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गर्खाकोटबाट प्रहरी नायब निरीक्षक तिलक अधिकारीको कमान्डमा चारजनाको टोली खोजी तथा उद्धारका लागि परिचालन गरिएको छ। दुवै बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित तीनवटै सुरक्षा निकाय परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिए।

नेपाल प्रहरीले  थापा बेपत्ता भएको घटनाको दिनदेखि नै खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी उपरीक्षक पुरीले बताए। बाढीका कारण खोलामा पानीको बहाव तीव्र भएकाले खोजी तथा उद्धारमा चुनौती देखिएको प्रहरीले जनाएको छ।

घटनाप्रति प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढाले दुःख व्यक्त गरेका छन्। उनले आफू घटनास्थलमै पुगेर अवस्था बुझ्ने तयारीमा रहेको बताउँदै बेपत्ताको खोजी तथा उद्धारका लागि सम्बन्धित सबै संयन्त्रसँग आवश्यक समन्वय भइरहेको जानकारी दिए।

बुढाले विपतकाे समयमा बेपत्ताको खोजी तथा उद्धारलाई पहिलो प्राथमिकतामा राखेर आवश्यक स्रोतसाधन परिचालन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको बताए।लगातारको वर्षाका कारण जुनीचाँदेका विभिन्न क्षेत्रमा खोलानाला बढ्नुका साथै बाढीपहिरोको जोखिमसमेत बढेको छ। स्थानीयवासीले बेपत्ता व्यक्तिहरूको खोजीलाई थप प्रभावकारी बनाउन आवश्यक उपकरणसहितको उद्धार टोली परिचालन गर्न माग गरेका छन् ।

 

सुझावित समाचार