अनावरणको तयारीमा जेन–जी आन्दोलनका ४२ सहिदको सालिक

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण
  • राष्ट्रिय खेलकुद परिषद्को सातदोबाटोस्थित स्विमिङ पुलपरिसरमा बनाइँदै सालिकसहितको पार्क
  • जेन–जी आन्दोलनको वर्ष दिन पारेर २३ भदौमा उद्घाटन गर्ने योजना
  • १५ सालिक तयार, बाँकी फिनिसिङ हुँदै

जेन–जी आन्दोलनमा मृत्यु भएका ४२ सहिदको सालिक धमाधम निर्माण भइरहेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सातदोबाटोस्थित परिसरमा सहिदका सालिकसहितको पार्क जेन–जी आन्दोलनकै वर्ष दिन पारेर २३ भदौमा उद्घाटन गर्ने योजना छ । ५५ लाख लागतमा नौ महिनाअघि नै सालिक बनाउन थालिएको थियो । हालसम्म १५ सालिक तयार भइसकेका छन् भने बाँकीको फिनिसिङ भइरहेको छ । तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ४२ सहिदको सालिक बनाउन राखेपलाई निर्देशन दिएका थिए । तर, स्रोत सुनिश्चितता नभएपछि सहिदका परिवार र समाजसेवीले ग्लोबल आइएमई बैंकसँग पहल गरेका थिए । लगानी गरिदिन बैंक तयार भएपछि सालिक निर्माण अघि बढेको सहजकर्ता अर्जुन थापाले बताए ।

‘तत्कालीन नागरिक सरकारका खेलकुदमन्त्रीले सालिक बनाउने ठाउँ दिन राखेपलाई निर्देशन दिनुभयो । ठाउँ त भयो, तर सालिक बनाउन रकम भएन । पहलपछि ग्लोबल आइएमई बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सालिक बनाउन तयार भएपछि काम अघि बढ्यो,’ उनले भने, ‘अहिलेसम्म कारिगरले सबै सालिकको स्वरूप दिइसकेका छन्, त्यसमा फिनिसिङको काम भइरहेको छ, सहिदको योगदान र सम्झनामा यो काम गर्न लागिएको हो ।’

एक सातामा सबै सालिक तयार हुने जनाइएको छ । सालिक राख्नका लागि स्विमिङ पुलपरिसरको जग्गामा बगैँचा पनि तयार भइरहेको छ । खेलकुद मन्त्रालयले जग्गा सुनिश्चित गरिदिएर नौ महिनाअघि नै सालिक बनाउने काम सुरु भए पनि ढुंगा र कारिगर नपाउँदा समय लागेको सहजकर्ता थापाले बताए ।

नयाँ सरकार बनेपछि प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयले सालिक निर्माण प्रक्रिया छिटो अगाडि बढाउन चासो दिएका थिए । हाल प्रधानमन्त्री कार्यालयका प्रतिनिधिले नियमित निरीक्षणसमेत गरिरहेका छन् । ‘जेन–जी सहिदहरूको सालिक निर्माण छिटो गर्ने विषयमा प्रधानमन्त्री (बालेन्द्र शाह)ज्यूले नै चासो दिएपछि सोहीअनुसार निर्माण थालिएको हो, सम्भवतः उहाँले नै उद्घाटन गर्नुहुन्छ होला,’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने, ‘काम ढिला भयो भनेर पटक–पटक अनुगमन गरिरहेका छौँ ।’

परामर्श नगरी असम्बन्धित ठाउँमा सहिदको सालिक बनाएको भन्दै वडाको विरोध
राखेपको स्विमिङ पुलपरिसर काठमाडौं महानगरपालिका– १५ मा पर्छ । तर, वडासँग परामर्श नगरी असम्बन्धित ठाउँमा सालिक बनाउन लागिएको भन्दै वडाध्यक्ष सुरेबहादुर शाहीले विरोध गरेका छन् । ‘उहाँहरूले वडालाई नसोधी स्विमिङ पुल क्षेत्रमा सालिक र पार्क बनाउन थाल्नुभएको रहेछ । तर, यहाँ पार्क बनाएर सालिक राख्नु उपयुक्त हुँदैन, जेन–जी आन्दोलन स्विमिङ पुलभित्र भएको होइन,’ उनले भने, ‘हाम्रो वडामा काम गर्दा समन्वय नगरी केन्द्र सरकारको ठाडो आदेशमा काम भयो, त्यसपछि हामीले पत्र पठाएर सोधेका थियौँ, जवाफ आएन । जेन–जी सहिदको सालिकका लागि उपयुक्त ठाउँ पुरानो संसद् भवनबाहिर हुन सक्थ्यो वा अन्य उपयुक्त ठाउँ रोज्न सकिन्थ्यो । खेलकुदसँग सम्बन्धित जग्गामा आएर सालिक बनाउनु उचित भएन ।’

राखेपका सदस्यसचिव रामचरित्र मेहताले अघिल्लो सरकारकै पालामा सहिदको सालिक र पार्क बनाउने काम अघि बढेपछि वडाले विरोध गरेको बताए । ‘यो ठाउँ सरकारी हो, तर यसमा सालिक बनाउनको लागि उपयुक्त नभएको भन्दै विवाद बढ्यो,’ उनले भने ।

तत्कालीन खेलकुदमन्त्री तथा रास्वपा सांसद बब्लु गुप्ताले सहिदहरूको सालिक बनाउन आफूले निर्णय गरेको बताउँदै सहिदको सम्मानको लागि उक्त कार्य थालेको बताए । ‘म मन्त्री हुँदा जग्गा दिलाउनका लागि राखेपलाई भनेको थिएँ, सहिदहरूको सम्मान र सम्झनामा सालिक बनाउनैपर्ने थियो,’ उनले भने, ‘यसमा विरोध गर्नुको आधार छैन, राखेपको जग्गामा बनाउँदा वडासँग अनुमति लिनुपर्ने अवस्था होइन ।’ 

सहिद घोषित तीन प्रहरीको सालिक भने बनाइएन, प्रहरी प्रवक्ता भन्छन्– छुटाउनुहुँदैन
जेन–जी आन्दोलनका क्रममा समग्रमा ७६ जनाको मृत्यु भएको थियो । जुन आन्दोलनमा प्रत्यक्ष गोली लागेका, जेलनेल तोडेर भाग्दा ज्यान गुमाएका र आन्दोलनकारीबाट मारिएका प्रहरीसहितको तथ्यांक हो । जसमध्ये प्रहरीको गोली लागेर मारिएका ४२ आन्दोलनकारी र आन्दोलनकारीको आक्रमणबाट मारिएका तीन प्रहरी गरी ४५ जनालाई सरकारले सहिद घोषणा गरेको थियो ।

तर, राखेपको स्विमिङ पुलपरिसरमा प्रहरीबाहेक ४२ सहिदको मात्रै सालिक बनाउन लागिएको छ । सहिद प्रहरीको सालिक अन्य सहिदसँगै नबनाइएकोमा प्रहरीले असन्तुष्टि जनाएको छ ।

‘अन्य सहिदहरूसँगै सहिद प्रहरीको पनि सालिक बनाउनुपर्छ । नत्र उनीहरूमाथि सरकारबाटै अन्याय भएको ठहरिन्छ,’ प्रहरी प्रवक्ता अविनारायण काफ्लेले भने, ‘जेनजी आन्दोलनका सबै सहिदको सालिक एकैठाउँमा हुनुपर्छ ।’ सहिद घोषित प्रहरीहरू सिन्धुली दुधौली– ८ का मिलन राय, कास्की रूपा– ५ का अमृत गुरुङ र दार्चुला लेकम– ३ का उत्तम थापा हुन् । उनीहरूको आन्दोलनकारीले खुकुरी प्रहार र कुटपिटबाट हत्या गरेका थिए । 

यी सहिदको बन्दै छ सालिक 
१. बुद्धिबहादुर तामाङ, कीर्तिपुर– २, काठमाडौं 
२. सन्तोष विश्वकर्मा, बेलका– ४, उदयपुर 
३. सुलभराज श्रेष्ठ, नेपालगन्ज– १, बाँके 
४. श्रीयम चौलागाईं, बेलबारी– ११, मोरङ 
५. इस्वतबहादुर अधिकारी, कामपा– ११, काठमाडौं 
६. आयुष थापा, नेपालगन्ज– १, बाँके 
७. गौरव जोशी, धनगढी– ५, कैलाली 
८. योगबहादुर श्रेष्ठ, बाह्रबिसे– ६, सिन्धुपाल्चोक 
९. माधव सारूमगर, भूमिकास्थान– ४, अर्घाखाँची 
१०. विमलबाबु भट्ट, बारपाक सुलीकोट– ५, गोरखा 
११. असहाव आलम ठकुराई, वीरगन्ज– १२, पर्सा 
१२. सौरनकिशोर श्रेष्ठ, बागलुङ– ४, बागलुङ 
१३. सुभाषकुमार बोहरा, खप्तडछान्ना– ७, बझाङ 
१४. रसिक खतिवडा खत्री, पनौती– १०, काभ्रे 
१५. विनोद महर्जन, ललितपुर– ७, ललितपुर 
१६. दिलनारायण तामाङ, तेमाल– ७, काभ्रे 
१७. योगेन्द्र न्यौपाने, गोलान्जोर– १, सिन्धुली 
१८. अभिषेक श्रेष्ठ, इनरुवा नपा– ६, सुनसरी 
१९. मोहन सरदार, इटहरी– १४, सुनसरी 
२०. छत्रमान कुथुमी, पाख्रीबास– २, धनकुटा 
२१. ओझन बुढा, स्वामिकार्तिक खापर– २, बाजुरा 
२२. साजन राई, धरान– २२, सुनसरी 
२३. अनिश पराजुली, पालुङटार– ३, गोरखा 
२४. सारकुमार राई, चौदण्डीगढी– ३, उदयपुर 
२५. अर्जुन भट्ट, गण्डकी– ४, गोरखा 
२६. धीरज श्रेष्ठ, तादी– ३, नुवाकोट 
२७. देवकुमार सुवेदी, लालबन्दी– ५, सर्लाही 
२८. उमेश महत, चौतारा साँगाचोकगढी– ८, सिन्धुपाल्चोक 
२९. प्रवीण कुलुङ, सिलिचुङ– ३, संखुवासभा
३०. निखिता गौतम, कालिका– ८, चितवन 
३१. अभिषेक चौलागाईं, शैलुङ– ४, दोलखा 
३२. विजय चौधरी, लहान– १५, सिराहा 
३३. भीमराज धामी, दुर्गाथली– १, बझाङ 
३४. नीरज पन्त, दशरथचन्द– ६, बैतडी 
३५. दीपकसिंह साउद, शिवनाथ– २, बैतडी 
३६. शुभराज बलामी श्रेष्ठ, ककनी– १, नुवाकोट 
३७. ज्ञानिन्द्र सेढाईं, अर्जुनधारा– ११, झापा 
३८. दिनेश राजवंशी, अर्जुनधारा– ८, झापा 
३९. कमल भण्डारी, हिलिहाङ– २, पाँचथर 
४०. दीपेश सुनुवार, तीनपाटन– ६, सिन्धुली 
४१. महेश बुढाथोकी, बिगु– ३, दोलखा 
४२. लच्छुमान राई, पञ्चकन्या– २, नुवाकोट

सुझावित समाचार