गरिमा विकास बैंकको आफ्नै नवनिर्मित केन्द्रीय कार्यालय बुधबारदेखि सञ्चालनमा आएको छ । काठमाडौं महानगरपालिका– ३, बालुवाटारस्थित केन्द्रीय कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले गरेका हुन् । यसअघि लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण भएको हो । सोही अवसरमा कार्यालयपरिसरमा निर्मित मन्दिरमा शिव पाञ्चायन प्राणप्रतिष्ठासहित धार्मिक पूजाआजासमेत गरिएको थियो ।
०६४ मा स्याङ्जाको वालिङबाट वित्तीय कारोबार सुरु गरेको यस बैंकले १ वैशाख ०६७ देखि कास्कीको महेन्द्रपुलमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको थियो । पछि राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएपश्चात् २७ चैत ०७३ मा केन्द्रीय कार्यालय पोखराबाट काठमाडौं लाजिम्पाटमा सरेको थियो । नवनिर्मित केन्द्रीय कार्यालयको समुद्घाटन कार्यक्रममा गभर्नर पौडेलसँगै धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट, नेपाल राष्ट्र बैंकलगायत अन्य नियमनकारी निकायका पदाधिकारी, गरिमा विकास बैंकका सञ्चालक समितिका सदस्यलगायतको उपस्थिति थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले आफ्नै स्वामित्वको भवनमा केन्द्रीय कार्यालय सञ्चालनमा आएसँगै विकास बैंकको अर्को अध्याय सुरु भएको बताए । विकास बैंकको सफल व्यावसायिक यात्रामा विभिन्न संस्था, नियमनकारी निकाय, ग्राहक र सेयरधनीको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे । त्यस्तै, विकास बैंकका अध्यक्ष दिलीपप्रताप खाँणले ग्राहकलाई थप सहज, प्रभावकारी तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।