एसिया कप प्रिक्वालिफायर खेल्ने नेपाली टोली घोषणा

बिहिबार, ४ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल बास्केटबल संघले बुधबार फिबा एसिया कप प्रिक्वालिफायरका लागि १२ सदस्यीय टोली घोषणा गरेको छ । सदीश प्रधानको कप्तानीमा नेपालले प्रिक्वालिफायर खेल्ने संघले जनाएको छ । टोलीमा विनोद महर्जन उपकप्तान, मुख्य प्रशिक्षक सुशील गुरुङ र आशिष न्यौपाने सहायक प्रशिक्षकका रूपमा रहेका छन् । फिबा एसिया कप प्रि–क्वालिफायर दुबईमा हुनेछ ।

आगामी २६ देखि ३१ अगस्टसम्म दुबईमा हुने प्रतियोगितामा श्रेयशबहादुर शाह, निश्चल महर्जन, अजय कुशवाहा, आसिम श्रेष्ठ, सौरव श्रेष्ठ, सुदीप पौडेल क्षेत्री, कमल थापा, साइमन गुरुङ, पेमा शेर्पा र प्रणयमान श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । नेपाल फिबा एसिया कप प्रिक्वालिफायरको समूह ‘ए’मा छ ।

नेपालले पहिलो खेल २६ अगस्टमा युएईसँग खेल्नेछ । नेपालले दोस्रो खेल २८ अगस्टमा कुवेतविरुद्ध र तेस्रो खेल ३० अगस्टमा बहराइनसँग खेल्ने तालिका छ । समूह चरणको अन्तिम खेल २१ अगस्टमा नेपालले ओमानको सामना गर्नेछ । नेपाली बास्केटबल खेलाडीले प्रिक्वालिफायरको माध्यमबाट एसियालीस्तरको प्रतियोगितामा आफ्नो दाबेदारी प्रस्तुत गर्नेछन् ।

प्रिक्वाफायर्सको हरेक समूहबाट शीर्ष तीन टोलीले दोस्रो चरणमा स्थान बनाउने फिबाले जनाएको छ । दोस्रो चरणमा छनोट भएका टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहको शीर्ष समान चार टोलीले फिबा एसिया कप २०२९ क्वालिफायर्समा छनोटमा स्थान पक्का गर्ने छन् ।

१६ शीर्ष राष्ट्रबिच एसिया कप हुने 
क्वालिफायर्सबाट छानिएका उत्कृष्ट आठ टोली र फिफा एसिया कप २०२५ को उत्कृष्ट १६ टोली गरी २४ टोलीको मुख्य छनोट प्रतियोगिता हुनेछ । जसबाट शीर्ष १६ टोली सन् २०२९ मा हुने फिबा एसिया कपमा छनोट हुनेछन् । फिबा एसिया कप प्रिक्वालिफायरको समूह ‘बी’ मा काजकस्तान, प्यालेस्टाइन, श्रीलंका, माल्दिभ्स र कीर्गिस्तान रहेका छन् ।

यसैगरी, समूह ‘सी’मा इन्डोनेसिया, मलेसिया र सिंगापुर छन् । समूह ‘डी’मा थाइल्यान्ड, मंगोलिया, भियतनाम र फिजी छन् । समूह ‘बी’ को खेल काजकस्तानमा हुनेछ । समूह ‘सी’को छनोट मलेसिया र समूह ‘डी’को छनोट मंगोलियामा हुने आयोजकले जनाएको छ । प्रिक्वालिफायर्समा एसियाका १७ र ओसियाका क्षेत्रका एक गरी कुल १७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

सुझावित समाचार