- नेतृत्वको सबैभन्दा सुन्दर अन्त्य पदमा टाँसिएर होइन, आफूभन्दा सक्षम पुस्तालाई विश्वास गरेर पुस्तान्तरण गरेपछि मात्र सम्भव हुन्छ
नेपालको लोकतान्त्रिक यात्रामा पुरानो पुस्ताको योगदानलाई अस्वीकार गरेर नयाँ राजनीतिक बहस सुरु गर्न सकिँदैन । निरंकुश पञ्चायती व्यवस्था ढाल्न उनीहरूले गरेको संघर्ष, त्याग र जोखिमकै कारण आज हामीले बोल्ने, लेख्ने र आफ्नो विचार स्वतन्त्र रूपमा राख्ने अधिकार पाएका छौँ । त्यसका लागि उहाँहरूप्रति हृदयदेखि नै आभार व्यक्त गर्नुपर्छ । तपाईंहरू मेरो पुस्तालाई स्वतन्त्र भएर बाँच्न पाउने अधिकारको लडाइँ लडिरहँदा हामी जन्मेकै थिएनौँ । त्यसैले, तपाईंहरूको योगदानप्रति सम्मान हाम्रो पुस्ताको नैतिक दायित्व हो ।
तर, इतिहासप्रतिको सम्मान र वर्तमानप्रतिको प्रश्न एक–अर्काका विरोधी होइनन् । हिजो उहाँहरूले व्यवस्था परिवर्तनका लागि आफ्नो ज्यान समर्पण गर्नुभएको थियो, आज त्यही परिवर्तनबाट प्राप्त राज्यसत्ता र पार्टी नेतृत्वमा सधैँ मरिहत्ते गरेर लागिरहन भने स्वाभाविक मान्न सकिँदैन । पार्टीभित्र होस् वा राज्य सञ्चालनमा नेतृत्व हस्तान्तरण गर्न नचाहने प्रवृत्तिले एउटा गम्भीर प्रश्न जन्माउँछ । परिवर्तनका लागि लडेको पुस्ताले परिवर्तनको नेतृत्व नयाँ पुस्तालाई कहिले सुम्पिने ?
कहिले किर्ना, कहिले आवारा, यस्तो बोली आखिर के हो ? यो बोली कसले बोल्ने, कोसँग बोल्ने र किन बोल्ने ? जनताको मतबाट बनेका राजनीतिक पात्रलाई यस्ता शब्दले सम्बोधन गर्ने अधिकार कसलाई छ ? असहमति राख्न पाइन्छ, आलोचना गर्न पनि पाइन्छ, तर राजनीतिक बहसलाई अपमानको भाषामा झार्ने दम्भले आखिर कहिलेसम्म चल्ला र ? प्रश्न गर्ने नागरिकलाई हेपेर परिवर्तनको राजनीतिलाई उँभो लगाउन सकिएला र ?
पुराना नेता ०४६ सालयता निरन्तर पार्टी नेतृत्व, मन्त्री पद र राज्यसत्ताको वरिपरि रहँदै आउनुभएको छ । पटक–पटक पार्टी नेता, पटक–पटक मन्त्री र चार–चार, पाँच–पाँचपटकसम्म प्रधानमन्त्री भइसक्दा पनि आखिर कहिले अघाउने ? आफूसँगै राजनीति गरेका वा आफूभन्दा जुनियर नेताले पाएको जिम्मेवारी देख्ने, तर आफूले दशकौँदेखि सम्हाल्दै आएको राजपाठ छोड्ने समय आएको नदेख्ने, यो कस्तो राजनीतिक तृष्णा हो ? अब पनि भएन ? अझै पुगेन ? तपाईंहरूको राजनीति गर्ने धित कुन दिन मर्ला ?
‘आफूले खाएको नदेख्ने, आफूभन्दा जुनियरले खाएको मात्र देख्ने’ राजनीतिक संस्कारले पार्टीलाई बलियो बनाउँदैन । नेतृत्व भनेको कुर्सीमा टाँसिइरहनु होइन, आफूले बनाएको बाटोमा अर्को पुस्तालाई अघि बढ्ने ठाउँ बनाइदिनु पनि हो । इतिहासले नेताको मूल्य उसले कतिपटक पद पायो भन्ने आधारबाट भन्दा उसले आफूभन्दा पछाडिको पुस्तालाई कति सक्षम बनाएर छोड्यो भनेर बढी मापन गर्छ ।
यही प्रश्न अहिले कांग्रेस, एमाले र कम्युनिस्ट धाराका सबै शीर्ष नेतृत्वमाथि लागू हुन्छ । निर्वाचनमा अपेक्षित परिणाम नआएपछि चुनावी समीक्षा हुनु स्वाभाविक हो । तर, एमाले र नेपाली कम्युनिस्ट धारभित्र गम्भीर समीक्षा किन भएन ? समीक्षा माग्नेहरूलाई ‘जुनियर केटाकेटीहरू कराउँदै गर्छन्’ भन्ने मानसिकताले पन्छाउने हो भने नेतृत्वको जवाफदेहिता कहाँ रहन्छ ? प्रचण्डले ओलीसँग त्यस्तै आशयको कुरा गरेको चर्चा सही हो भने प्रश्न झन् गम्भीर हुन्छ । चुनावी समीक्षा कुनै नेताविरुद्धको षड्यन्त्र होइन, पार्टीलाई सुधार्ने न्यूनतम लोकतान्त्रिक अभ्यास हो ।
तर, यहाँ अर्को राजनीतिक विरोधाभास पनि छ । आफूलाई परिवर्तनको पक्षधर दाबी गर्ने वर्तमान सरकार पुराना दलका शीर्ष नेताप्रति किन यति सहिष्णु, उदार सहयोगी देखिन्छ ? कारबाहीको चर्चा हुन्छ, तर छोइहाले पनि अन्ततः सम्मानपूर्वक घर फर्किने अवस्था देखिन्छ भने त्यसको राजनीतिक अर्थ के हो, आम नागरिकले नबुझेका छन् र ? यदि कांग्रेस, एमाले र कम्युनिस्ट धारका शीर्ष नेताहरूलाई जवाफदेही बनाउने अवस्था आयो र दोस्रो पुस्ताले पार्टी सम्हाल्ने अवसर पाउँछ र त्यस्तो अवस्थामा पुराना दल कमजोर होइन, उल्टै नयाँ ऊर्जाका साथ उठ्न सक्छन् । यही कारणले ०८२ भदौ २३/२४ जस्तो अर्को जनउभारको सम्भावनाबाट सरकार सचेत भएर पुरानो नेतृत्वलाई नछोएको हो कि भन्ने प्रश्न उठेकै छ ।
किनकि, दोस्रो पुस्ताले कांग्रेस, एमाले वा कम्युनिस्ट दलहरू सम्हाले भने नयाँ भाष्य, नयाँ संगठन र नयाँ जनसम्बन्ध निर्माण हुन सक्छ । त्यस अवस्थामा अहिले नयाँ विकल्पतर्फ गएको मत पुनः पुरानै दलतिर फर्किन सक्छ । यही सम्भावना नयाँ शक्तिका लागि अत्यन्तै ठुलो चुनौतीको विषय हो ।
रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन साहको राजनीतिक उचाइलाई पनि यही सन्दर्भमा बुझ्नुपर्छ । रविलाई राज्यका विभिन्न निकायसँग जोडिएका कानुनी प्रक्रियाले पटक–पटक अदालत धाउनुपर्यो । बालेनमाथि निरन्तर आलोचना भयो । तर, दबाबले उनीहरूलाई कमजोर पार्नुको सट्टा कतिपय अवस्थामा जनसहानुभूति र राजनीतिक चर्चा बढायो । भकुन्डो जति जोडले भुइँमा थचारिन्छ, कहिलेकाहीँ त्यति नै माथि उफ्रिन्छ । पुराना शक्तिले नयाँ पात्रलाई रोक्न खोज्दा उनीहरूकै राजनीतिक ‘हाइट’ बढ्ने अवस्था यही हो ।
यता देउवा दम्पतीको प्रसंगले अर्को प्रश्न थप्छ । देउवा दम्पतीलाई ‘रेड कर्नर नोटिस’मार्फत भए पनि स्वदेश फर्काएर पक्राउ गर्ने चर्चा चल्यो, तर अन्ततः देउवा सहज रूपमा स्वदेश फर्किए । त्यसपछि पाँचपटकसम्म मुलुकको कार्यकारी पद सम्हालिसकेका देउवा ‘म हिन्दु हुँ’ भन्दै असाधारण रूपमा मुखर देखिए । व्यक्तिगत धार्मिक आस्था उहाँको अधिकार हो । प्रश्न त्यो होइन । प्रश्नचाहिँ धर्मनिरपेक्ष राष्ट्रमा यति लामो कार्यकारी अनुभव भएका नेताले अहिले आफ्नो धार्मिक पहिचानलाई यति जोडदार राजनीतिक अभिव्यक्तिका रूपमा किन प्रस्तुत गरे भन्ने हो । कसलाई रिझाउन खोजिएको हो ? फेरि अर्को भूराजनीतिले कोल्टे फेर्न खोजेको हो त ? अर्थात्, कुन राजनीतिक मनोविज्ञानलाई सम्बोधन गरिएको हो ? यी प्रश्न उठ्नु स्वाभाविक हो ।
आफ्नै पार्टी, संस्था वा घरपरिवारभित्र अपमानजनक विशेषणले असहमतिको आवाजलाई दबाउन खोज्नु लोकतान्त्रिक संस्कार होइन । प्रश्न गर्ने नागरिकलाई विरोधी ठान्ने बानीले क्षणिक रूपमा नेतृत्वलाई सहज बनाए पनि दीर्घकालमा जनतासँगको दूरी बढाउँदो रैछ । जनमतलाई सम्मान गर्ने नेता आलोचनाबाट भाग्दैन, उसले आलोचनाभित्र लुकेको संकेत पढ्छ ।
त्यसैगरी, राज्यले कसैलाई कानुनको कठघरामा उभ्याउँदा प्रक्रिया पारदर्शी हुनुपर्छ र कसैलाई उन्मुक्ति दिँदा पनि त्यसको आधार स्पष्ट हुनुपर्छ । एउटै व्यवस्थामा फरक–फरक व्यक्तिका लागि फरक–फरक मापदण्ड देखियो भने कानुनभन्दा ठुलो राजनीतिक पहुँच हो भन्ने धारणा बलियो हुन्छ । लोकतन्त्रको सबैभन्दा ठुलो क्षति यही अविश्वास हो । विगतमा पनि सहकारी प्रकरणमा धनराज गुरुङ र रवि लामिछानेमाथि देखिएको कानुनी मापदण्डले यसलाई प्रस्ट पारेकै हो । त्यसैले, अब पुरानो पुस्तालाई एउटा सम्मानपूर्वक आग्रह गर्नुपर्ने वेला आएको छ । तपाईंहरूले व्यवस्था परिवर्तनका लागि आफ्नो जीवनको महत्वपूर्ण समय दिनुभयो । हाम्रो पुस्ताले त्यसबाट स्वतन्त्रता पायो । अब सोही स्वतन्त्रताको अर्को अर्थ पनि स्वीकार गरिदिनुस् र नयाँ पुस्तालाई नेतृत्व गर्ने स्वतन्त्रता दिनुहोस् ।
तपाईंहरूको पार्टी तपाईंहरूको निजी सम्पत्ति पनि होइन, देश कसैको निजी घर पनि होइन । दुवै जनताका साझा भरोसा र जिम्मेवारी हुन् । तपाईंहरूकै पार्टीभित्र तपाईंहरूभन्दा धेरै राम्रोसँग संगठन र राज्य सञ्चालन गर्न सक्ने क्षमता भएका एकसेएक नयाँ पुस्ता छन् । उनीहरूलाई अवसर दिनु तपाईंहरूको पराजय होइन, तपाईंहरूको अन्तिम र सबैभन्दा ठुलो राजनीतिक योगदान हुनेछ ।
हिजो तपाईंहरूले हाम्रो पुस्ताका लागि स्वतन्त्रताको लडाइँ लड्नुभयो । अब तपाईंहरूले आफ्नै दोस्रो पुस्तालाई आफूले थालेका र अघि सारेका नयाँ राजनीतिक कार्यभार पूर्ण गर्ने अवसर दिनुपर्छ । आफूले सुरु गरेको परिवर्तन आफ्नै पुस्ताको हातमा मात्र सीमित नरहोस्, आफूले देखेको सपना, थालेका सुधार र चालेका नयाँ कदमलाई अझ परिष्कृत गर्दै आफ्नै दोस्रो पुस्ताले पूर्णता देओस् । त्यसो भयो भने नेतृत्व छोड्नु अन्त्य होइन, आफूले सुरु गरेको यात्रालाई अझ सक्षम हातमा सुम्पिएको गौरव हुनेछ ।
आज हाम्रो पुस्ताले तपाईंसँग केवल एउटा प्रश्न गरिरहेको छ । अब पनि भएन ? अझै पुगेन ? आखिर कति खाएपछि अघाउने हो कतिचाहिँ खाएपछि अघाउनुहुन्छ ? तपाईंको राजनीतिक चित्त कस्तो छ ?
अन्त्यमा, मैले देखेको नेतृत्वको सबैभन्दा सुन्दर अन्त्य पदमा टाँसिएर होइन, आफूभन्दा सक्षम पुस्तालाई विश्वास गरेर हुन्छ । क्युवाका फिडेल क्यास्ट्रोले आफू जीवित रहँदै सम्पूर्ण राजपाठको जिम्मेवारी राहुल क्यास्ट्रोलाई सुम्पिए । इतिहासले दिएको सम्मानलाई बचाउने अन्तिम बाटो पनि यही हो । समयमै ठाउँ छोड्नु, आफूले थालेका नयाँ काम आफ्नै दोस्रो पुस्तालाई सुम्पिनु र आफूले सुरु गरेको परिवर्तनलाई उनीहरूकै हातबाट पूर्ण भएको देखेर सम्मानपूर्वक विश्राम लिनु । तर के, हाम्रा दलका पुराना पुस्ताका नेतृत्वबाट यसको पहल होला त ?
(थापा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुन्)