६१ वर्षीया वृद्धामाथि जबर्जस्ती करणी गरेकाे आरोपमा २१ वर्षीय युवक पक्राउ

बुधबार, ३ भदौ, २०८३
डिजिटल संस्करण

घरमा एक्लै रहेकी ६१ वर्षीया वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा रामेछापमा २१ वर्षीय युवक पक्राउ परेका छन्। रामेछापको लिखु बृहत् खानेपानी आयोजनामा मजदुरको रूपमा काम गर्दै आएका २१ वर्षीय प्रेम विसुंखेलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

विसुंखे मंगलबार राति रामेछाप नगरपालिकाकी एकल वृद्धालाई जबर्जस्ती करणी गरेर फरार भएका थिए। वृद्धाले घटनाबारे छिमेकीलाई बताएपछि प्रहरीमा खबर गरेका थिए।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय धोबीडाँडाबाट खटिएको प्रहरी टोलीले विसुंखेलाई रामेछाप नगरपालिका– ४, हिमगंगाको तिलबारीस्थित एक खाली घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारेको हो।

पक्राउ परेका विसुंखेलाई जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी रामेछाप जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए।

सुझावित समाचार