सरकारले संघीय अनुदानमा कार्यरत शिक्षक तथा विद्यालय जनशक्तिको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी तथा विद्यालय सहयोगीका लागि संघीय सरकारबाट उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक पाँच हजार रुपैयाँ थप गरिएको छ। बुधबारको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धी निर्णय गरेको हो।
त्यसैगरी, संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको साबिकमा खाइपाई आएको पारिश्रमिकमा वृद्धि गर्दै माध्यमिक तृतीय श्रेणी र निम्नमाध्यमिक तृतीय श्रेणी शिक्षकको सुरु तलबबराबर कायम गरिने शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले भनेको छ, ‘यो निर्णय मात्र पर्याप्त छैन, तर समस्या समाधान गर्ने दिशामा यो हाम्रो इमानदार प्रयास हो। विद्यालय शिक्षामा आवश्यक जनशक्ति र स्रोतको सुव्यवस्थित व्यवस्थापनका लागि सरकार प्रतिबद्ध छ।’
आजकै निर्णयबाट राज्यको वार्षिक दायित्वमा थप रु. ४ अर्ब ६८ करोड ९८ लाख २८ हजार एक सयबराबरको भार थपिने भएको छ।
शिक्षक, कर्मचारी तथा विद्यालय सहयोगी जनशक्तिको योगदानको सम्मान गर्दै विद्यालय शिक्षाको गुणस्तर सुधार र जनशक्तिको उचित व्यवस्थापनका लागि सरकारले आगामी दिनमा समेत आवश्यक पहल गर्दै जाने शिक्षामन्त्री सस्मित पोखरेलले बताए।