जितपुर–सिमरा उपमहानगरपालिका–१, दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरी मृत अवस्थामा भेटिएपछि बारा जिल्लामा सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। प्रहरीको प्रारम्भिक अनुमानअनुसार बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने देखिएको छ।
घटनालाई लिएर सांसदहरू अरविन साह र रहबर अन्सारीले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सांसद साहले बालबालिकामाथि भइरहेका हिंसा तथा जघन्य अपराध रोक्न स्थानीय तहमा सिसिक्यामेरा र पर्याप्त सडकबत्ती जडान गर्नुपर्ने माग गरेका छन्।
सांसद साहले सानै उमेरका बालबालिकाको विभिन्न बहानामा मृत्यु हुने क्रम देखिएको भन्दै यस्ता घटनाको रोकथामका लागि राज्यले प्रभावकारी सुरक्षा व्यवस्था गर्नुपर्ने बताएका छन्। उनले बालिकाको हत्या प्रकरणमा निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।
त्यस्तै, सांसद रहबर अन्सारीले घटनाबारे प्रहरीलाई जानकारी गराउँदासमेत लामो समयसम्म खोजी कार्य अघि नबढाइएको भन्दै सम्बन्धित प्रहरी अधिकारीको भूमिकामाथि प्रश्न उठाएका छन्। उनका अनुसार प्रहरीलाई जानकारी गराएको २४ घण्टासम्म पनि खोजी कार्य प्रभावकारी रूपमा अघि नबढेको भन्दै इलाका प्रहरी कार्यालयका जिम्मेवार अधिकारीलाई तान्न वा कारबाही गर्नुपर्ने अवस्था आएको छ।
स्थानीयवासीले खबर गरेपछि मात्रै खोजी कार्य अघि बढेको भन्दै अन्सारीले सुरक्षा निकायको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। बालिकाको के दोष भन्दै उनले यस्ता घटनाप्रति राज्य गम्भीर बन्नुपर्ने बताएका छन्।
बालिकामाथि बलात्कार र हत्याजस्ता घटना दोहोरिन थालेको भन्दै दुवै सांसदले सरकारलाई बालबालिकाको सुरक्षा, अपराध नियन्त्रण र दोषीमाथि कडा कानुनी कारबाहीका लागि तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।