बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रियाबिच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र केन्द्र र प्रदेश संसदीय दलबिचकाे मतभेद खुलेर सतहमा आएको छ। एमालेका मुख्यमन्त्रीका उम्मेदवार किरण थापामगरलाई समर्थन गरिएको पत्रप्रति असहमति जनाउँदै राप्रपाको केन्द्रीय नेतृत्वले प्रदेश प्रमुखलाई उक्त पत्रलाई मान्यता नदिन आग्रह गरेको छ ।
राप्रपाका महामन्त्री तथा सचिवालय प्रमुख राजेन्द्र गुरुङले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पत्र लेख्दै एमाले नेतृत्वको सरकारलाई समर्थन गरिएको भनिएको पत्र पार्टीको आधिकारिक निर्णयअनुसार नभएको उल्लेख गरेका छन्। उनले पार्टीको औपचारिक निर्णय र निर्देशनविपरीत बुझाइएको पत्रलाई मान्यता नदिन अनुरोध गरेका हुन्।
राप्रपाले गत साउन २० गते बसेको कार्यसम्पादन समिति बैठकले वर्तमान परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ताराजनीतिमा सहभागी नहुने निर्णय गरेको जनाएको छ। सोही बैठकले प्रदेश सरकारसम्बन्धी आवश्यक निर्णय गर्ने अधिकार पार्टी अध्यक्षलाई दिएको थियो।
त्यसैगरी, भदौ १ गते बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने क्रममा पनि संसदीय दललाई अर्को निर्देशन प्राप्त नभएसम्म मतदान तथा समर्थन प्रक्रियामा तटस्थ बस्न निर्देशन दिइएको राप्रपाले स्मरण गराएको छ।महामन्त्री गुरुङले प्रदेश प्रमुखलाई पठाएको पत्रमा पार्टीको कुनै निर्णय वा निर्देशनविना बुझाइएको समर्थन पत्रमा राप्रपाको सहमति नरहेको उल्लेख गर्दै त्यसलाई आधिकारिक नमान्न आग्रह गरिएको छ । साथै पार्टीले प्रदेश सरकारको सत्ताराजनीतिको ‘गणितीय चलखेल’मा सहभागी नहुने आफ्नो पूर्ववत् अडान दोहोर्याएको छ।
एमालेका किरण थापामगरले बुधबार एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ गरी ६३ सांसदको समर्थन रहेको दाबी गर्दै मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए ।
