सभापति गगन थापाले भने– केही नेताहरू असन्तुष्ट हुनुहुन्छ, सहमतिका लागि निरन्तर संवादमा छु

बुधबार, ३ भदौ, २०८३
डिजिटल संस्करण

कांग्रेस सभापति गगन थापाले भने अब महाधिवेशनका लागि समय अत्यन्त कम रहेको भन्दै प्रक्रिया अघि बढिसकेको बताएका छन् । मंगलबार निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिँदै थापाले असन्तुष्ट नेतासँग निरन्तर संवाद भइरहेको र निर्धारित कार्यतालिकाअनुसार महाधिवेशन सम्पन्न गर्ने बताए ।

प्रक्रियामा कुनै पनि प्रकारको अनियमितता, त्रुटि वा पूर्वाग्रह नराख्न उनले सचेत गराए । ‘अदालतले असोज १६ गतेलाई महाधिवेशनको अन्तिम आधार मानेको छ । त्यसैले हामीसँग अब समयको सुविधा छैन । हामीले अत्यन्तै छोटो अवधिभित्र सबै प्रक्रिया टुंग्याउनुपर्ने चुनौती छ । अधिवेशनको प्रक्रिया टुंगिँदै गर्दा कुनै पनि प्रश्न नउठ्ने गरी निष्पक्ष र पारदर्शी ढंगले काम सम्पन्न गर्नुपर्नेछ,’ थापाले भने ।

थापाले असन्तुष्ट नेताहरूसँग निरन्तर संवादमा रहेको पनि बताएका छन् । पार्टीभित्र देखिएको असन्तुष्टि र असमझदारी समाधानका लागि आफू लागिपरेको उनको दाबी छ । ‘केही नेताहरू असन्तुष्ट हुनुहुन्छ । उहाँहरूसँग सहमतिका लागि निरन्तर संवादमा छु,’ उनले भने । महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा निर्वाचन सम्पन्न गर्न तोकिएका निर्वाचन अधिकृतलाई प्रशिक्षण दिइएको निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बताए । अब निर्वाचन अधिकृतहरूले जिम्मेवारी पाएको जिल्लामा गएर स्थानीय तहदेखि नै महाधिवेशनको चुनावी प्रक्रिया थाल्ने खड्काले बताए ।

सुझावित समाचार