नौ वर्षपछि कोशी प्रदेश सभामा दलित समुदायका लागि अधिकार ऐन दर्ता

बुधबार, ३ भदौ, २०८३
डिजिटल संस्करण

संविधान कार्यान्वयन भएको नौ वर्षपछि बल्ल कोशी प्रदेश सभामा सबैभन्दा पछाडि पारिएको दलित समुदायका लागि अधिकार ऐन दर्ता भएको छ । संघीयता कार्यान्वयनपछि कोशी सरकारले ८५ वटा कानुन प्रदेश सभामार्फत पारित गराएर निर्माण गराइसकेपछि बल्ल दोस्रो कार्यकालको चौथो वर्षमा सबैभन्दा पछाडि पारिएको समुदायका लागि दलित अधिकार ऐन कोशी प्रदेश सभामा दर्ता गराएको  हो ।  

दलित अधिकार ऐन ल्याउनका लागि कोशी प्रदेश सभाका दलित, गैरदलित सांसद र  दलित संघ–संगठनहरूले  निरन्तर सरकारलाई दबाब दिँदै आएका थिए । दलित र गैरदलितहरूको निरन्तरको दबाबपछि सामाजिक विकास मन्त्रालयले मस्यौदा बन्न सुरु भएको आठ वर्षपछि बल्ल  २० साउन ०८३ मा दलित अधिकार व्यवस्था गर्न बनेको विधेयक कोशी प्रदेश सभामा दर्ता गराएको  हो  । 

दर्ता भएको उक्त ऐनउपर आज  बुधबारदेखि सुरु हुने नवाै‌ँ अधिवेशनको २३औँ बैठकमा टेबल भएर सैद्धान्तिक छलफल सुरु हुने कोशी प्रदेश सभाका सचिव सुदर्शन खड्काले बताए ।  कोशी प्रदेश सभामा हालसम्म ८५ वटा विधेयक पारित भइसकेका छन् । तीनवटा विधेयक दर्ता भएर छलफलमा छन्। दलित अधिकारसहित दुईवटा विधेयक नयाँ दर्ता भएका छन् । 

कोशी प्रदेश सभाको पहिलो कार्यकालमै तत्कालीन सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले दलित अधिकार ऐन ल्याउन मस्यौदा निर्माण गराउन लागेकी थिइन् । तत्कालका कानुनी परामर्शदाता अधिवक्ता कोषराज न्यौपानेले ०७६ मै दलित सशक्तिकरण ऐनको मस्यौदा  बनाएका थिए । तर, राज्यमन्त्री गजमेरको पद गएसँगै उक्त दलित सशक्तिकरण ऐन पनि मन्त्रालयको महाशाखामै थन्किएको थियो ।  

मधेशलगायका अन्य प्रदेशमा दलित सशक्तिकरण ऐन निर्माण भएर कार्यान्वयनमा आइसकेको भन्दै निरन्तर सांसद, दलित संघ–संगठन र अधिकारकर्मीहरूले चाँडो दलित अधिकार ऐन निर्माण गराउन निरन्तर दबाब दिइरहेका थिए। 
ऐन निर्माण गर्ने जिम्मेवारी पाएको सामाजिक विकास मन्त्रालयले दलित सशक्तिकरण ऐन मस्यौदालाई जिल्लास्तरीय छलफलमा लगेर आवश्यक संशाेधन गरी दलित अधिकार ऐन निर्माण गर्ने चरण अन्तिममा पुर्याएको थियो ।तर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वीकृति नदिँदा उक्त दलित अधिकार ऐन प्रदेश सभामा दर्ता हुन पाएको थिएन ।

पछि मन्त्रिपरिषद्ले स्वीकृति दिए पनि सामाजिक विकास मन्त्रालयले ऐन दर्ता गराउन आलटाल गरेको थियो । मन्त्रालयका सचिव र मन्त्रीहरू  एक–अर्कालाई देखाएर पन्छिरहेका थिए । सामाजिक विकास मन्त्रालयले मुख्यमन्त्री परिषद् र अर्थ मन्त्रालयबाट स्वीकृि नपाएको बहाना बनाउने गरेको थियो भने मुख्यमन्त्री, अर्थ र कानुन मन्त्रालयले सामाजिक मन्त्रालयले स्वीकृतिका लागि मस्यौदा नपठाएको बताउने गरेका थिए ।  

यता सबैभन्दा पछाडि पारिएको अधिकारको प्रथम दाबेदार दलित समुदायको संविधानमा सुनिश्चित हक–अधिकार दिलाउने कानुन निर्माणमा ढिलासुस्ती भएको भन्दै दलित मात्र नभएर गैरदलित सांसदहरूले समेत प्रदेश सभामा पटक–पटक सबै  सरकारहरूको आलोचना गर्दै आएका थिए । 

दलित अधिकारवादी संस्था रिडेफ नेपालका अनुसार कोशी सरकारले दलित अधिकार ऐन निर्माणका लागि भनेर मस्यौदा निर्माणका लागि मात्र ४० लाखभन्दा बढी खर्च गरिसकेको थियो ।  गैरसरकारी क्षेत्रको तर्फबाट पनि दबाबका लागि ५० लाखभन्दा बढी खर्च गरिसकेका थिए ।  
 

सुझावित समाचार