संसद्लाई अहिलेसम्म सम्बोधन गरेका छैनन् प्रधानमन्त्री शाहले

मंगलबार, २ भदौ, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाहले १३ चैतमा सरकार सम्हालेपछि संसद्लाई औपचारिक सम्बोधन गरेका छैनन् । संसद् सचिवालयको रेकर्डका अनुसार १९–२७ चैतसम्म चलेको पहिलो अधिवेशनमा प्रधानमन्त्री शाह बोलेका थिएनन् ।

प्रस्ताव टेबुल गर्दासमेत उनी नबोलेरै पेस गर्ने गरेका थिए । प्रतिनिधिसभालाई सम्बोधन गरेर आफ्ना प्राथमिकता जनतालाई सुनाउने काम नगरेको भन्दै सार्वजनिक वृत्तमा आलोचना भएको थियो । यस्तै, २८ वैशाखदेखि सुरु दोस्रो अधिवेशनमा शाहले १७ जेठमा प्रतिनिधिसभामा आकस्मिक रूपमा समय लिएर सांसदसँग प्रश्नोत्तर गरे । तर, औपचारिक सम्बोधन गरेका छैनन् ।

त्यसअघि राष्ट्रपतिबाट नीति तथा कार्यक्रम वाचन भइरहँदा बिचमा उठेर हिँडेको, राष्ट्रिय पोसाक नलगाएको भनेर विपक्षीबाट प्रश्न उठान सुरु भएको थियो । नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री सहभागी हुनुपर्ने र जवाफ दिनुपर्ने माग विपक्षीले गरेका थिए । यसो नहुँदा नै नीति तथा कार्यक्रम पारित हुँदा विपक्षीले बहिष्कार तथा अवरोध गरेका थिए ।

त्यति मात्र होइन विपक्षीको विरोधकै क्रममा विधेयकसमेत पारित हुने अवस्था बन्यो । प्रधानमन्त्रीका तर्फबाट विधेयकहरूसमेत मन्त्रीले पेस गरेका थिए ।

सुझावित समाचार