जापानिज एजुकेसन ग्रुप फुटसलमा न्यू होराइजन च्याम्पियन

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण

न्यू होराइजन माइग्रेसनल एन्ड एजुकेसन प्रालिले पहिलो जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगिताको उपाधि जितेको छ। काठमाडौंको बुढानीलकण्ठस्थित कपन स्पोर्टस् सेन्टरमा भएको प्रतियोगितामा न्यू होराइजन च्याम्पियन भएको हो।

जापानिज भाषा अध्ययन र परामर्श दिने संस्था एजुकेसन ग्रुपको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यू होराइजनले तिरुपाती एचआर सोलुसन प्रालिमाथि ६–० को सहज जित रच्यो।

न्यू होराइजनका सुदीप लिम्बूले ह्याट्रिक पूरा गरे। टीका मगर र अनमोल राईले एक गोल थपेपछि न्यू होराइजनले सहज जित रचेको हो। युकिगुनी एजुकेसनल कन्सल्टेन्सीले तेस्रो स्थान प्राप्त गर्न सफल भयो। युकिगुनीले तेस्रो स्थानका लागि भएको खेलमा लोमस अब्रोड स्टडी प्रालिलाई ६–० ले हराएको थियो।

एकदिने प्रतियोगितामा भएको पहिलो सेमिफाइनलमा न्यू होराइजनले युकिगुनीलाई ६–३ ले हराएको थियो। दोस्रो सेमिफाइनलमा तिरुपातीले लोमस एजुकेसनललाई ४–२ ले हराउँदै उपाधि भिडन्त तय गरेको हो।

प्रतियोगिताको बेस्ट गोलकिपर च्याम्पियन न्यू होराइजनका अनमोल राई घोषित भए। बेस्ट प्लेअरको ट्रफी भने तिरुपातीका निखिल ढुंगानाले प्राप्त गरे।

दुवैलाई जापानिज एजुकेसन ग्रुपका संयोजक रूपसिंह तामाङले ट्रफी हस्तान्तरण गरे। विजेता न्यू होराइजनले एक लाख र उपविजेता तिरुपाती एचआरले ७५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। उनीहरूलाई जापानिज एजुकेसन ग्रुपका संयोजक रूपसिंह तामाङले ट्रफी प्रदान गरेका थिए।

सो अवसरमा जापानिज एजुकेसन ग्रुपका संयोजक रूपसिंहले आगामी दिनमा पनि आफ्नो संस्थाले खेलकुदमा विभिन्न प्रतियोगिता र प्रोत्साहन कार्यक्रम आयोजना गर्दै स्वच्छ नागरिक उत्पादनमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे।

तेस्रो स्थानको युकिगुनीले ५० हजार रुपैयाँ प्राप्त गर्यो। उक्त प्रतियोगितामा कुल १० टोलीले प्रतिस्पर्धा गरेका थिए। लिग कम नकआउटका आधारमा भएको प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो।

सुझावित समाचार