नेपालको होरा इ–स्पोर्टस्ले फ्रान्सको पेरिसमा भएको पब्जी मोबाइल विश्वकपका १८ खेलमा कुल १०९ अंक जोड्दै आठौँ स्थान रक्षा गरेको छ । आइतबार विश्वकपको अन्तिम दिन उत्कृष्ट प्रदर्शनका कारण होरा इ–स्पोर्टस्ले आठौँ स्थान सुरक्षित गरेको हो । समूह चरणमा चौथो स्थान हासिल गर्दै ग्रान्ड फिनालेमा प्रवेश गरेको नेपाली टोली होराले अघिल्लो संस्करणमा नवौँ स्थान रक्षा गरेको थियो ।
आठौँ स्थानमा फिनिस गरेसँगै होराले एक लाख २७ हजार पाँच सय अमेरिकी डलर पुरस्कार जितेको हो । समूह चरणमा ५७ हजार पाँच सय डलर पुरस्कार जितेको होराले फाइनलमा थप ७० हजार अमेरिकी डलर हात पार्यो । आइतबारको विनिमय दरअनुसार उनीहरूले एक करोड ९४ लाख ३१ हजार नेपाली रुपैयाँ जितेका छन् ।
फाइनलको पहिलो दिन चार खेलमा १९ अंक जोडेको होराले दोस्रो दिन आठ खेलमा ३९ अंक बटुलेको थियो । तेस्रो दिनमा होराले थप सुधारेको प्रदर्शन गर्दै ५१ अंक थप्यो । होराले तेस्रो दिन पहिलो खेलमा अंक बटुल्न सकेन । त्यसपछि होराले दोस्रोमा २१ र तेस्रो खेलमा १४ अंक हात पा¥यो । चौथो खेलमा होराले १ अंक मात्र जोड्यो ।
पाँचौँ खेलमा ४ अंक मात्र जोडेको होराले छैटौँ खेलमा ११ अंक जोडेको थियो । दोस्रो दिनको अन्तिम खेलमा होराले ६ अंक जोड्दा १२ खेलमा ५८ अंकका साथ ११औँ स्थानमा रहेको थियो । ग्रान्ड फिनालेको विजेता टोली टर्कीको एसटुजी इ–स्पोर्टस्ले पाँच लाख अमेरिकी डलर पुरस्कार पाएको छ । पब्जी मोबाइलको ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्ने १६ वटै टोलीले नगद पुरस्कार पाउनेछन् ।