भारतीय नवनियुक्त सेनाध्यक्ष धीरज सेठ चारदिने नेपालको औपचारिक भ्रमणका क्रममा आइतबार आइपुगेका छन् । गत १६ असारमा सेनाध्यक्षको कार्यभार सम्हालेपछि उनको यो पहिलो विदेश भ्रमण हो । भ्रमण दलमा श्रीमती कोमल सेठ तथा भारतीय सेनाका अन्य तीनजना अधिकारी छन् ।
सेनाध्यक्ष सेठ प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा आएका हुन् । नेपाल र भारतका सेनाध्यक्ष एक–अर्का सेनाको मानार्थ महारथी (प्रमुख) हुने परम्पराअनुसार नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी लगाउन र द्विपक्षीय वार्ताका लागि उनको भ्रमण भएको हो ।
सेनाध्यक्ष सेठसहितको सैनिक प्रतिनिधिमण्डललाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाली सेनाको मध्य एयर बेसमा सेनाका बलाधिकृत रथी प्रदीपजंग केसीसहित नेपाली सैनिक अधिकारीले स्वागत गरे । ‘प्रधानसेनापतिज्यूको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्षज्यू भ्रमणका क्रममा आइपुग्नुभएको छ,’ सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतले भने ।
सेनाध्यक्ष सेठले भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरेका छन् । नेपाल र भारतबिचको बहुआयामिक सम्बन्ध एवं सैन्य साझेदारीको पछिल्लो अवस्थाबारे सेनाध्यक्ष सेठ र राजदूत श्रीवास्तवबिच कुराकानी भएको भारतीय दूतावासले जनाएको छ ।
सेनाध्यक्ष सेठलाई सोमबार शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभित गर्ने कार्यक्रम रहेको बस्नेतले बताए । सोमबारै सेनाध्यक्ष सेठ र प्रधानसेनापति सिग्देलबिच जंगी अड्डामा द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ । सेनाध्यक्ष सेठलाई जंगी अड्डामा विभागीय प्रमुखहरूले नेपाली सेनाको अपरेसनल गतिविधिलगायतका प्रस्तुतीकरण गर्ने कार्यक्रम छ ।
मंगलबार भारतीय सेनाध्यक्ष सेठले शिवपुरीस्थित नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा सैनिक शिक्षार्थीलाई नेपाल–भारत सैन्य सम्बन्धबारे सम्बोधन गर्ने कार्यक्रम छ । मंगलबार उनले नेपाली उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको भारतीय सेनालाई उद्धृत गर्दै प्रेस इन्फरमेसन ब्युरो भारतले विज्ञप्तिमा जनाएको छ ।
बुधबार सेनाध्यक्ष सेठ पोखरा जाने कार्यक्रम छ । उनले पोखरामा बहालवाला तथा भूतपूर्व भारतीय गोर्खा सैनिकका परिवारजनसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । यसपटक मौसमका कारण उनको मुक्तिनाथ भ्रमण नहुने भएको छ । उनी बुधबार अपराह्न पोखराको कार्यक्रम सकेर दिल्ली फर्किने कार्यक्रम छ ।