युवा पुस्ताको मुद्दा र सरोकारका लागि क्रियाशील संस्था समन्वय नेपालले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको राष्ट्रिय युवा महोत्सव ‘युवा घोषणापत्र २०२६’ जारी गर्दै समापन भएको छ। सो घोषणापत्रमार्फत सातै प्रदेशका युवा प्रतिनिधिले सुशासन, डिजिटल समावेशीकरण, मर्यादित रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य, जलवायु कारबाही र राष्ट्रिय विकासमा युवाको बलियो सहभागिताका लागि आह्वान गरेका छन् ।
प्रविधि र साझेदारीमार्फत बहुपक्षीय सहकार्यलाई अघि बढाउनुपर्ने सन्देशसहित आयोजित महोत्सवले जारी गरेको घोषणापत्रमा ११ वटा प्रतिबद्धता र आगामी दिनमा गर्नुपर्ने कार्यका लागि सम्बन्धित पक्षसँगको सहकार्यलाई जोड दिइएको छ। युवा प्रतिनिधिले आफ्नो मुद्दा र सरोकारका साथै सार्वजनिक सेवा, बजेट, नीति तथा विकासका प्रतिबद्धताको अनुगमन गर्न सक्षम बनाउने पहुँचयोग्य संयन्त्र बनाउनुपर्ने माग गरेका छन्।
त्यस्तै, संघीय, प्रादेशिक र स्थानीय तहमा नीति निर्माण, योजना, बजेट तर्जुमा, कार्यान्वयन र अनुगमनमा युवाको सार्थक र संस्थागत सहभागिता हुनुपर्ने उनीहरुको माग छ। घोषणापत्रले समावेशीकरण, समानता र युवा अधिकारको संरक्षणमा विशेष जोड दिएको छ । घोषणापत्रमा युवा महिला, अपांगता भएका व्यक्ति, दलित, आदिवासी जनजाति, मधेशी, ग्रामीण, आर्थिक रूपमा विपन्न तथा अन्य सीमान्तकृत समुदायका मुद्धा र सरोकारसमेत समेटिएका छन्।
प्रविधिको सवालमा युवा प्रतिनिधिले डिजिटल पूर्वाधार र सिपमा सुलभ पहुँचको माग गर्दै आर्टिफिसियल इन्टेलिजेन्सको जिम्मेवार प्रयोग, डेटा गोपनीयता, डिजिटल अधिकार, अनलाइन सुरक्षा र भ्रामक सूचनाविरुद्धका उपाय अपनाउन आग्रह गरेका छन् ।
घोषणापत्र जारी हुनुअघि दुईवटा सत्र आयोजना गरिएका थिए। ‘युवा नीति संवाद’ शीर्षकको पहिलो सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा प्रमुख सचेतक क्रान्तिशिखा धिताल, नेपाली कंग्रेसकी सांसद गीता गुरुङ, सार्वजनिक नीति विज्ञ डा. प्रकाश भट्टराई र युवा प्रतिनिधि मजिद अन्सारी सहभागी भएका थिए । सो छलफलमा जेन-जी आन्दोलनपछिको एक वर्ष तथा सुशासन, सार्वजनिक सेवा प्रवाह र नीतिगत सुधारलगायतका विषयमा बहस गरिएको थियो । ‘युवा र डिजिटल भविष्यः एआई र गोपनीयता’ शीर्षकको दोस्रो सत्रमा अधिवक्ता बाबुराम अर्याल, अधिवक्ता योगिता राई र टेकपानाका सिइओ विजयकुमार तिमिल्सिनाले बहस गरेका थिए ।
कार्यक्रमको उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले गरेका थिए। उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पछिल्लो समय युवाहरूमा मानसिक स्वास्थ्यका चुनौती देखिएकाले त्यसलाई सम्बोधन गर्न बलियो सामाजिक सहयोग प्रणाली र अर्थपूर्ण व्यक्तिगत सम्बन्ध आवश्यकता रहेको बताए। उनले युवाहरूलाई सिर्जनशील रहन र सार्वजनिक बहसमा सहभागी भई आफ्नो मुद्दा उठाउन आग्रह गरेका थिए। आयोजक संस्था समन्वय नेपालका संस्थापक तथा कार्यकारी निर्देशक जगदीश ऐरले युवालाई ‘भविष्यका संवाहक’का रूपमा मात्र नभई ‘वर्तमानका प्रश्नकर्ता’का रूपमा हेरिनुपर्ने धारणा राखेका थिए।