चालू आव ०८३/८४ को पहिलो महिना सकिनै लाग्दा सेयर बजार परिसूचक स्थिरप्रायः देखिएको छ । साधारणतः नयाँ आर्थिक वर्षको सुरुवातसँगै बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुने, ब्याजदर घट्ने अपेक्षा गरिने, मौद्रिक नीति सार्वजनिक हुने तथा लगानीकर्ता नयाँ रणनीतिका साथ बजारमा प्रवेश गर्ने भएकाले सेयर बजार बढ्ने गर्छ । तर, यसपालि भने साउन महिनाको अन्तिम सातामा पनि परिसूचक स्थिर देखिएको हो ।
साउनको अन्तिम कारोबार दिन बजार परिसूचक २६४३.८३ विन्दुमा रोकिएको छ । गत सोमबारको बजार परिसूचक साउन महिनाभरिकै न्यूनतम विन्दु हो । त्यस दिनमा बजार परिसूचक २६४१.०६ विन्दुमा पुगेको थियो । साउन महिनाभरिमा बजार परिसूचक ३३.७१ अंकले घटेको छ ।
१ साउनमा बजार परिसूचक २६७७.५४ विन्दुमा थियो । यो महिनाको सबैभन्दा उच्चतम विन्दु ७ साउनमा २७३४.६ पुगेको थियो । त्यसयता बजार परिसूचक ९०.७७ अंकले घटिसकेको छ । सर्वाधिक सेयर कारोबार ४ साउनमा ६ अर्ब ४७ करोड रुपैयाँबराबरको थियो ।
नयाँ आर्थिक वर्षको सुरुवाती महिना साउनमा असार मसान्तको दबाब र कर भुक्तानीको समय सकिएपछि बैंकिङ प्रणालीमा रकम सहज हुन्छ । तर, आर्थिक गतिविधि शिथिल हुँदा लामो समयदेखि बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी थुप्रिँदै गइरहेको छ । त्यसैले तरलताले समेत बजारलाई खासै प्रभावित पारेको छैन ।
प्रायः आर्थिक वर्षको सुरुवातमा बैंकहरूको लगानीयोग्य रकम बढ्दा ब्याजदर घट्ने सम्भावना रहन्छ । यसले सेयर बजारलाई सकारात्मक प्रभाव पार्छ । तर, लामो समयदेखि अधिक तरलता व्यहोरेका बैंक तथा वित्तीय संस्थाको ब्याजदर न्यूनदरमा छ । न्यून ब्याजदरकै कारण पनि बजार बढ्ने अवस्था देखिएको छैन ।