सुदूरपश्चिमको मुख्यमन्त्री बन्दै खगराज भट्ट, आजै शपथ

शुक्रबार, २९ साउन, २०८३
डिजिटल संस्करण

सुदूरपश्चिममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्दै छन् । भट्टले नेकपा एमालेको समर्थनमा आज मुख्यमन्त्रीमा दाबी पेस गर्दै छन् । प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न बिहान ११ बजेसम्मको समय दिएका छन्।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख मियाँले बिहीबार बेलुकी आह्वान गरेका हुन् ।

मुख्यमन्त्री बन्न लागेका भट्टले निर्धारित समयभन्दा केही अगाडि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी रहेको बताए । ‘प्रदेश प्रमुखले ११ बजेसम्मको समय दिनुभएको छ, केही समय अगाडि जानुपर्ला,’ उनले भने । प्रदेश प्रमुखको कार्यालयले नवनियुक्त मुख्यमन्त्रीको शपथ आजै दिउँसो ३ बजे राखेको छ ।

राजनीतिक अस्थिरताका कारण सुदूरपश्चिममा प्रदेश सभाको दोस्रो कार्यकालको करिब साढे तीन वर्षको अवधिमा पाँचौँ सरकार गठन हुँदै छ । भट्ट पाँचौँ मुख्यमन्त्री बन्न लागेका हुन् । यसअघि तीनजना चारपटक मुख्यमन्त्री बनेका छन् ।

हिजो राजीनामा दिएका मुख्यमन्त्री कमलबहादुर शाह दुईपटक मुख्यमन्त्री बनेका थिए । त्यस्तै, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल तथा तत्कालीन एकीकृत समाजवादीको संसदीय दलका नेता दीर्घ सोडारी पनि मुख्यमन्त्री बनिसकेका छन् ।

दुई कार्यकाल गरी शाहले तीन वर्षभन्दा बढी समय सरकारको नेतृत्व गरेका छन् । रावलले एक महिना र सोडारीले करिब तीन महिना सरकारको नेतृत्व गरे । कांग्रेस र एमालेको गठबन्धन टुटेपछि प्रदेशमा नयाँ सरकार गठन हुन लागेको हो ।

५३ सदस्यीय प्रदेश सभामा हाल एक निलम्बनसहित ५२ सदस्य कायम छन् । सरकार गठनका लागि २७ सदस्यको समर्थन आवश्यक रहेकोमा नेकपा र एमालेको स्पष्ट बहुमत छ । नेकपाका एक निलम्बितसहित २१, कांग्रेसका १८, एमालेका ११ र राप्रपाका एक सांसद छन् । सभामुख भीमबहादुर भण्डारी पनि तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित हुन् ।

सुझावित समाचार