‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अवलोकनकर्ताको उल्लेख्य सहभागिता देखिएको छ । भृकृटीमण्डपमा जारी एक्स्पोको दोस्रो दिनमा २६ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेको आयोजकले जनाएको छ । पहिलो दिन २९ हजारले अवलोकन गरेका थिए । एक्स्पोमा सहभागी कम्पनीका अनुसार महँगा र सस्ता कार तथा मोटरसाइकलमा अवलोकनकर्ताको समान रुचि देखिएको छ । साथै, एक्स्पोमा गाडी बुकिङ पनि उल्लेख भएको बताइएको छ ।
त्यस्तै, आज २६ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन् । उद्घाटनको दिन हिजो २९ हजारभन्दा बढीले मेला अवलोकन गरेका थिए । मेला अवधिभरमा करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
अवलोकनकर्ताहरूले खासगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिसलगायत विषयमा चासो राखेका छन् । कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन् । उनीहरूले मूल्यमा छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, फ्री सर्भिसिङ, न्यून दरमा कर्जाजस्ता सुविधा दिएका छन् ।
बुधबार दोस्रो दिन पनि विभिन्न ब्रान्डका चार नयाँ मोडेल सार्वजनिक भएका छन् । पहिलो दिन मंगलबार विभिन्न ब्रान्डले ४८ नयाँ मोडेलका सवारीसाधन सार्वजनिक गरेका थिए । बुधबार लर्निङ सेसन्समा ‘मोबिलिटी ः हिजो आज र भोलि’ विषयमा अन्तर्क्रिया गरिएको छ ।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो ६ दिन अर्थात् साउन ३१ सम्म चल्नेछ । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ । एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि अन्य नयाँ मोडेलका विद्युतीय कार, इस्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन् ।