एनसेलको सेयर खरिद र स्मार्ट सेलको लिलामी प्रकरण : २२ विरुद्ध मुद्दा दायर, ९६ अर्ब बिगो

बिहिबार, २८ साउन, २०८३
डिजिटल संस्करण

एनसेल आजियटाको सेयर बिक्री विवाद तथा स्मार्ट सेलको चार अर्ब ६० करोड रुपैयाँबराबरको लिलामी प्रकरणमा २२ जनाविरुद्ध मुद्दा दायर भएको छ । स्मार्ट सेलका तत्कालीन सञ्चालक, एनसेल आजियटाका सञ्चालक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक र सिइओ तथा प्राधिकरणकै पूर्वअध्यक्षलाई प्रतिवादी बनाइएको मुद्दाको कुल बिगो ९६ अर्ब १२ करोड १७ लाख रुपैयाँ छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले ठगी, संगठित अपराध तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो । यसमा स्मार्ट सेलको उपकरण लिलामी र एनसेलको सेयर खरिद–बिक्रीको विषयमा छुट्टाछुट्टै बिगो कायम गरिएको छ ।

एनसेलको सेयर बिक्रीबाट राज्यलाई ८७ अर्ब दुई करोड ६४ लाख रुपैयाँ घाटा भएको भन्दै सोहीबराबर बिगो कायम गरिएको छ । यसमा एनसेलका सञ्चालकहरू सतिशलाल आचार्य, डा. श्रीधीर सरिपुक्ताहन्स विजय सुरिया, अब्दुजावोर कायुमोभ, थन्डालाम धिराभल्ली थिरुमलाचारी, अमाली नानायाकरा, डोनाल्ड जेम्स रे र नियो हुई युलाई प्रतिवादी बनाइएको छ ।

त्यस्तै, स्मार्ट सेलको उपकरण लिलामीमा सर्वेश जोशी, सतिशलाल आचार्य, सचिनलाल आचार्य, भाष्करलाल नरसिंह जोशी, ज्योतिप्रकाश पाण्डे, पृथ्वीबहादुर पाँडे, प्रजन्य राजभण्डारी, कविकुमार टिब्रेवाला, दीपांकर शाक्य उडाई, शालिकराम बेलवासे र शोभा श्रेष्ठलाई प्रतिवादी बनाइएको छ । लाइसेन्स खारेज भएसँगै सरकारको स्वामित्वमा आएको स्मार्ट सेलको बिटिएस टावरलगायत उपकरण लिलाम गरी एनसेलले खरिद गरेको थियो । यस प्रक्रियामा कानुन मिचिएको अभियोग छ । यसमा चार अर्ब २० करोडको बिगो कायम छ । इन्भष्टमेन्ट बैंकको सिंगो सञ्चालक समिति र सिइओलाई कानुन मिचेर कर्जा उठाउन लिलाम गरेको अभियोग लगाइएको छ ।

पलिना श्रेष्ठ, खुमनाथ अधिकारी र नरेन्द्र उलकलाई बनावटी खरिद प्रक्रियामा संलग्न भएकोमा प्रतिवादी बनाइएको छ । त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने चार अर्ब ३६ करोड ५८ लाख २० हजार ४८२ रुपैयाँको बिगो कायम गरी सर्वेश जोशी, सतिशलाल आचार्य, भावनासिंह श्रेष्ठ र सचिनलाल आचार्यलाई मुद्दा दायर गरिएको छ ।

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई अध्यक्ष भएको समयमा स्मार्ट सेलको लिलामी रोक्न पर्याप्त भूमिका नखेलेको अभियोग लगाइएको छ । तर, बिगो खुलाइएको छैन । यस मुद्दामा भण्डारीबाहेक अरू सबैलाई फरार प्रतिवादी बनाइएको छ । पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा नेतृत्वको छानबिन समितिको प्रतिवेदनसमेतलाई आधार बनाएर सिआइबीले यसमा पाँच महिना लामो अनुसन्धान गरेको हो । 

See More On

सुझावित समाचार