बोरा अभावका कारण करिब ६ महिनादेखि गोदाममै थन्किएको उदयपुर सिमेन्ट उद्योगको ‘गैँडा छाप’ सिमेन्ट बिक्री सुरु भएको छ। प्याकिङका लागि आवश्यक बोरा खरिद गरिएपछि उद्योगले मंगलबारदेखि तयारी अवस्थामा रहेको सिमेन्ट बजार पठाउन थालेको हो।
उद्योगका उत्पादन विभाग प्रमुख नगेन्द्रप्रसाद देवका अनुसार मंगलबार दुई ट्रक अर्थात् ७२० बोरा सिमेन्ट बिक्री भइसकेको छ। प्रतिबोरा ७२५ रुपैयाँका दरले बिक्री गर्दा उद्योगले बुधबारसम्म पाँच लाख २२ हजार रुपैयाँ आम्दानी गरेको छ। ‘मंगलबारदेखि बिक्री सुरु गरेका छौँ। अहिलेसम्म दुई ट्रक (करिब ७२० बोरा) सिमेन्ट बजार पठाइसकेका छौँ,’ देवले भने।
बोरा अभावका कारण लामो समयदेखि उत्पादन भएको सिमेन्ट प्याकिङ गर्न नसक्दा उद्योगको गोदाममै थन्किएको थियो। उद्योगका निमित्त महाप्रबन्धक वैद्यनाथ झाका अनुसार तत्कालका लागि चितवनस्थित आशीर्वाद पोली प्यालक्स प्रालिबाट ५३ हजार १८७ वटा बोरा खरिद गरिएको छ। ‘बोरा आपूर्तिकर्तालाई सिमेन्ट बिक्रीबाट प्राप्त रकमबाट भुक्तानी गर्ने सर्तमा तत्कालका लागि बोरा ल्याएका हौँ,’ झाले भने।
बिक्री सुरु गरिएको सिमेन्टमध्ये एउटा ट्रक गाईघाट र अर्को जनकपुर पठाइएको छ। लामो समयसम्म तयारी सिमेन्ट बजारमा पठाउन नसक्दा उद्योगको उत्पादनदेखि बिक्रीसम्मको चक्र नै प्रभावित भएको थियो। उद्योगका अनुसार अहिले पनि गोदाममा तयारी सिमेन्ट र उत्पादनका लागि तयार पारिएको क्लिंकर गरी करिब ६० हजार बोराबराबरको मौज्दात छ। तर, अहिले क्लिंकरबाट थप सिमेन्ट उत्पादन गर्ने अवस्था नरहेको झाले बताए।
उद्योगले बोरा अभावकै कारण करिब ६ महिनासम्म तयारी सिमेन्ट बिक्री गर्न सकेको थिएन। उद्योगका अनुसार गोदाममा थन्किएको तयारी सिमेन्टको मूल्य करिब ६ करोड रुपैयाँबराबर छ। त्यसमध्ये पाँच लाख २२ हजार रुपैयाँबराबरको मात्र बिक्री भएको हो।
उद्योगमाथि आर्थिक दायित्वको भारसमेत चुलिँदै गएको छ। निमित्त महाप्रबन्धक झाका अनुसार उद्योगले तिर्नुपर्ने दायित्व पाँच अर्ब २५ करोड रुपैयाँभन्दा बढी पुगिसकेको छ। पछिल्लोपटक फागुनदेखि उद्योगको उत्पादन बन्द छ भने कर्मचारीले १७ महिनादेखि तलबसमेत पाएका छैनन्।