१८ केजी गाँजासहित दुई भारतीय नागरिक विमानस्थलबाट पक्राउ

बुधबार, २७ साउन, २०८३
डिजिटल संस्करण

१८ केजी गाँजासहित प्रहरीले दुईजना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । हवाईमार्ग हुँदै नेपाल आउने विदेशी यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरी टोलीले १८ केजी गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको प्रहरी उपरीक्षक, प्रवक्ता तथा सूचना अधिकारी दुर्गाराज रेग्मीले जानकारी दिए ।

साउन २६ गते राति क्याथे प्यासिफिकको उडानद्वारा थाइल्यान्डको बैंककबाट हङकङ हुँदै नेपाल आएका भारतीय नागरिक ३६ वर्षीय सञ्जीवकुमार र २६ वर्षीय रविकुमारले साथमा ल्याएको लागुऔषध गाँजा लुकाएको लगेजहरू आगमनतर्फको भन्सार क्षेत्रमा छोडी भाग्न लागेको अवस्थामा उनीहरूलाई थाइल्यान्डको गाँजा १८ किलोग्रामसहित पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

थाइल्यान्डबाट गाँजा ल्याउने भारतीय नागरिकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेपछि पक्राउबाट बच्न आगमनतर्फको भन्सार क्षेत्रमा लगेज छाडी जाने र केही दिनपछि नेपाली एजेन्टमार्फत दाबी गरी लैजाने गरेको खुलेको छ।

पक्राउ परेका भारत पन्जाब ठेगाना भएका ३६ वर्षीय सञ्जीवकुमार र भारत पन्जाब ठेगाना भएका २६ वर्षीय रविकुमारको साथबाट थाइल्यान्डको गाँजा १८ केजीसहित राहदानी दुई थान, मोबाइल दुई थान, झोला चार थानसमेत बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएकाे छ । 

See More On

सुझावित समाचार