नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ को दोस्रो संस्करण मंगलबारदेखि सुरु हुँदै छ । काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने यो एक्स्पो ३१ साउनसम्म चल्ने बताइएको छ ।
एक्स्पोको उद्घाटन बिहान नौ बजे नेपाल प्रहरी क्लबस्थित ब्लु पेभिलियन अडोटोरियम हलमा हुनेछ । उद्घाटनमा सरकारका विशिष्ट पदाधिकारी, विभिन्न कूटनीतिक नियोगका अधिकारी, प्रतिष्ठित संघ–संस्थाका पदाधिकारी, नाइमाका सञ्चालक समितिका पदाधिकारी एवं सदस्य संस्था, नाइमा नेपाल प्रदर्शनी साझेदार संस्था, अटो क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थालगायतको उपस्थिति रहने आयोजकले जनाएको छ ।
एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूद्वारा सिकाइ शृंखला, नीति संवाद र उद्योगसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सञ्चालन हुनेछन् । एक्स्पोमा ५५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अटोमोबाइल तथा मोबिलिटी ब्रान्डहरूको सहभागिता रहने बताइएको छ ।
नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले नाइमा एक्स्पो नेपालको मोबिलिटी क्षेत्रको वर्तमान अवस्था देखाउने मात्र नभई भविष्यको दिशा तय गर्ने एउटा महŒवपूर्ण मञ्च भएको बताइन् । ‘यसपटकको एक्स्पोमा प्रविधि, नवप्रवर्तन र दिगो मोबिलिटीका क्षेत्रमा भएका नवीनतम विकासलाई नेपाली उपभोक्तासमक्ष ल्याउँदै छौँ,’ उनले भनिन्, ‘उद्योग क्षेत्रको उत्साहपूर्ण सहभागिताले एक्स्पोप्रतिको विश्वास अझ बलियो बनाएको छ ।’
त्यस्तै, एक्स्पोको अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव सारडाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियविज्ञ, उद्योगका नेतृत्वकर्ता, विद्यार्थी र सरोकारवालालाई जोडेर ज्ञान आदान–प्रदान, सिप विकास र सुरक्षित तथा जिम्मेवार मोबिलिटीप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको बताए ।