भुटानी राष्ट्रिय महिला लिग ‘टियर १’मा पारो एफसी महिला टोलीले लगातार दोस्रो खेलमा फराकिलो जित हात पारेको छ । पारोले आफ्नो दोस्रो खेलमा आइतबार गेलेफु गल्र्स युनाइटेड (यू–२०)लाई ७–१ ले हरायो । घरेलु मैदान वुचु स्पोर्टस् एरिनामा पारोका लागि नेपाली मिडफिल्डरद्वय सरु लिम्बू र रेनुका नगरकोटे गोल गर्न सफल भए ।
वुडे कोल्ले र केडी जालोले समान दुई गोल गरे । यसअघि टियर १ को उद्घाटन खेलमा पारोले ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीमाथि ५–१ को सानदार जित हासिल गरेको थियो । लगातार दोस्रो जितसँगै पारो ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
गेलेफुले यसअघि आफ्नो पहिलो खेलमा युगेन एकेडेमीसँग २–२ को बराबरी खेलेको थियो । टोली अहिले चौथो स्थानमा छ । १० टोली सहभागिता रहेको ‘टियर ३’ मा पारो १६ अंकका साथ चौथो भएको थियो । सिंगल राउन्ड रोबिन प्रतिस्पर्धापछि शीर्ष ६ टोलीले राष्ट्रिय लिगको ‘टियर १’मा स्थान बनाएका थिए । पुछारका चार टोली राष्ट्रिय च्याम्पियनसिप अर्थात् ‘टियर २’ मा झरेका थिए । १२ अंकसहित छैटौँ स्थानमा रहेर गेलेफुले टियर १ को यात्रा गरेको हो ।