राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले ३६ वर्षदेखि बिग्रिएको देश सुधार्ने जिम्मेवारी आफ्नो पार्टीले पाएको भन्दै त्यसका लागि समय र नागरिकको साथ आवश्यक रहेको बताएका छन् ।
रास्वपा रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको पदस्थापना, बृहत् पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा बोल्दै आचार्यले चार महिनामै सबै समस्या समाधान गर्न नसकिने बताए । उनले देश निर्माणका लागि धैर्य र निरन्तर प्रयास आवश्यक रहेको उल्लेख गरे ।
‘३६ वर्षदेखि बिग्रिएको देश बनाउने जिम्मेवारी हामीले पाएका छौँ, तर चार महिनामै सबै कुरा ठिक गर्न सम्भव छैन,’ उनले भने, ‘देश बनाउन समय लाग्छ, त्यसका लागि नागरिकको साथ आवश्यक छ ।’
महामन्त्री आचार्यले रास्वपाले नागरिकको विश्वासमाथि कहिल्यै कुठाराघात नगर्ने दाबी गरे । उनले पार्टी र सरकारबाट गल्ती भएमा प्रश्न गर्न नागरिकलाई आग्रह गर्दै प्रश्न र आलोचनाले आफूहरूलाई अझ जिम्मेवार बनाउने बताए ।
‘हामीले गलत गर्दा प्रश्न गर्न नहिचकिचाउनुहोस् । तपाईंहरूको प्रश्नले हामीलाई बलियो बनाउँछ,’ उनले भने ।
उनले सरकारप्रति आएका प्रश्नहरू विरोध नभई जनताको ठुलो अपेक्षा र खबरदारीका रूपमा रहेको बताए । चार महिनामै ३६ वर्षको बेथिति अन्त्य गर्न रास्वपासँग ‘जादुको छडी’ नभएको उनको भनाइ थियो ।
आचार्यले आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा समेत रास्वपालाई साथ दिन आग्रह गरे । उनले कम्तीमा पाँच वर्ष पार्टीलाई काम गर्ने अवसर दिन नागरिकसँग अनुरोध गरे ।
‘सरकारले सही दिशामा काम गर्छ भन्ने जनताको विश्वास छ । हामीले गरेका काम नागरिकसम्म पुर्याउन नसकेका हुन सक्छौँ, तर अहिले नै हिम्मत हार्नुहुँदैन,’ उनले भने ।
उनले ०७९ अघिका सरकारका पालामा काण्डका समाचार आउने गरेको उल्लेख गर्दै पछिल्लो चार महिनामा त्यस्तो अवस्था नरहेको दाबी गरे ।
कार्यक्रममा बोल्दै रास्वपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुलभ खरेलले देशमा रहेको बेथिति रोक्न सके मात्रै परिवर्तन सम्भव हुने बताए । उनले आफूहरूले सरकारको विरोध नभई जनताका समस्या समाधानका लागि खबरदारी गरिरहेको स्पष्ट पारे ।
त्यस्तै, प्रतिनिधिसभा सदस्य तथा पार्टी केन्द्रीय सदस्य ज्ञानु पौड्यालले रास्वपा नेतृत्वको सरकारसँग जनताको ठुलो अपेक्षा रहेको बताइन् ।
कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य कल्पना पाण्डे, लुम्बिनी प्रदेश सभापति शालिकराम घिमिरे, प्रतिनिधिसभा सदस्यहरू डा. लेखजंग थापा, तौफिक अहमद खाँ, मञ्जु भुसाल, पुनम अग्रवाल, सुशान्त वैदिकलगायत नेताहरूको सहभागिता रहेको थियो ।