माछापुच्छ्रेको मोबाइल एपमा ‘बिल जितौँ’ सुविधा

आइतबार, २४ साउन, २०८३
डिजिटल संस्करण

माछापुच्छ्रे बैंकले सरकारद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’लाई सघाउन एमबिएल एम–स्मार्ट मोबाइल बैंकिङ एपमा ‘बिल जितौँ (आइआरडी) सुविधा सञ्चालनमा ल्याएको छ ।

सरकारले बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गरेको छ । यसका लागि बैंकका ग्राहकले एमबिएल एम–स्मार्ट एपमा लगइन गरी ‘बिल जितौँ’ मेनुमा जानुपर्नेछ । त्यसपछि आइआरडी उपहार कार्यक्रमका लागि योग्य भएका कुल कारोबार संख्या, योग्य कारोबारहरूको विस्तृत विवरण तथा उपहार विजेता भएको अवस्थामा सम्बन्धित जानकारी एकै स्थानबाट सहज रूपमा हेर्न सक्नेछन् । आन्तरिक राजस्व विभागले योग्य कारोबारबाट नियमित रूपमा लक्की ड्र सञ्चालन गर्दै प्रत्येक दिन एकजना विजेतालाई कर कट्टीपश्चात् एक लाख तथा प्रत्येक १५ दिनमा एकजना बम्पर विजेतालाई १० लाख पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ ।

बैंकले आफ्ना ग्राहकलाई १०० भन्दा बढीको प्रत्येक खरिदमा मर्चेन्टमार्फत डिजिटल भुक्तानी गर्न, अनिवार्य रूपमा प्यान–भ्याट बिल लिन, बिल सुरक्षित राख्न तथा एमबिएल एम–स्मार्टको बिल जितौँ मेनुमार्फत आफ्नो योग्य कारोबार नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ ।

डिजिटल बैंकिङलाई थप सहज, सुरक्षित तथा ग्राहकमैत्री बनाउँदै सरकारी डिजिटल भुक्तानी तथा कर सचेतना अभियानमा सहकार्य गर्न निरन्तर प्रतिबद्ध रहेको पनि बैंकले जनाएको छ ।

सुझावित समाचार