सिन्धुलीको गोलन्जोर गाउँपालिका–५, छब्बिसस्थित बिपी राजमार्गमा हाइस दुर्घटना हुँदा चारजना घाइते भएका छन्।
मोरङबाट काठमाडौं जाँदै गरेको बा ५ ख ५९८४ नम्बरको हाइसको ब्रेक फेल भई अनियन्त्रित भएर सडक छेउको नालामा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा धनुषाको गणेशमान नगरपालिका–७ की २२ वर्षीया रुवी साह र मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का १९ वर्षीय समित भुजेल गम्भीर घाइते भएका छन्। यस्तै, सोही स्थानका २० वर्षीय उज्वल चौधरी र सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का ४२ वर्षीय दुर्गानन्द शर्मा सामान्य घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ। हाइसमा चालकसहित १४ जना सवार रहेकोमा चारजना घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीले हाइसचालक मोरङको बेलबारी नगरपालिका–३ निवासी २५ वर्षीय उमेश श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा परेको सवारीसाधन घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।