राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनीष झाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सरकार एक्लो नभएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसदहरूले सरकारको कामकारबाहीबारे प्रश्न उठाएपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत आफू एक्लै संघर्ष गरिरहेको संकेत गरेपछि झाले जवाफ फर्काएका हुन्।
प्रधानमन्त्री शाहको फेसबुक स्टाटसको प्रतिक्रिया दिँदै झाले लेखेका छन्, 'परिवर्तनका लागि महान् जनादेश पाएको यो सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ।'
उनले सरकारको नियत र उद्देश्यप्रति शंका नरहेको उल्लेख गर्दै सुधार गर्नुपर्ने केही पक्ष रहेको बताए। संसदमा उठाइएका विषयहरू अवसर खेर जान नदिनका लागि गरिएको सचेत गराउने प्रयास भएको उनको भनाइ छ।
'यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ,' झाले लेखेका छन्।
झाले जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्ने उल्लेख गर्दै आफू सरकारको साथमा रहेको स्पष्ट पारे। 'जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन,' उनले भनेका छन्।
यसअघि शुक्रबार राति प्रधानमन्त्री शाहले सही समय आउन समय लाग्ने भन्दै सामाजिक सञ्जालमा 'कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन' भन्ने भावसहित स्टाटस लेखेका थिए। त्यसपछि झाले प्रधानमन्त्रीलाई सरकारभित्रैबाट साथ रहेको सन्देश दिएका हुन्।