वर्षायाम सुरु भएसँगै बालबालिकामा रुघाखोकी, ज्वरोजस्ता संक्रमणका समस्या बढ्ने गर्छन् । यही मौसममा आँखा पाक्ने समस्या धेरै हुने गर्छ । विशेष गरी, सहरी क्षेत्रमा बसोवास गर्ने बालबालिकामा यो समस्या देखिन्छ । १० वर्षमाथिका बालबालिकामा यो समस्या अझ बढी देखिन थालेको हो ।
वर्षाको समयमा घाम कम लाग्ने भएकाले घरभित्र पर्याप्त प्रकाश र हावा प्रवेश गर्न पाउँदैन । कोठा चिसो रहँदा झ्याल, ढोका, कपडा राख्ने दराज, पर्दा तथा शौचालयका विभिन्न भागमा ढुसी पलाउने सम्भावना बढ्छ । यही ढुसी बालबालिकाको स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्छ ।
बालबालिकाले खेल्ने क्रममा यस्ता स्थान छोएर त्यसपछि आँखामा हात लगाएमा आँखामा एलर्जी हुन सक्छ । एलर्जीका कारण आँखा रातो हुने, चिलाउने, आँसु बग्ने र आँखा पाक्ने समस्या देखिन सक्छ । त्यसैले वर्षायाममा घरभित्रको सरसफाइमा विशेष ध्यान दिन आवश्यक हुन्छ ।
विद्यालय र होस्टेलमा बस्ने बालबालिका अझ बढी जोखिममा पर्न सक्छन् । त्यहाँ धेरैले एउटै शौचालय, धारा तथा अन्य सार्वजनिक सामग्री प्रयोग गर्ने भएकाले एकजना बालबालिकामा भएको संक्रमण अर्काेमा सजिलै सर्न सक्छ । आँखा पाक्ने रोग अत्यन्त संक्रामक भएकाले विद्यालय वा होस्टेलजस्ता सामूहिक बसोवास भएका स्थानमा छिटो फैलिन्छ ।
यसबाट बच्न सबैभन्दा महत्वपूर्ण उपाय व्यक्तिगत सरसफाइ हो । बालबालिकालाई शौचालय प्रयोग गरेपछि अनिवार्य रूपमा साबुनपानीले हात धुने बानी बसाल्नुपर्छ । धेरैजसो बालबालिकाले हात राम्रोसँग नधुने भएकाले हातमा रहेका जीवाणु वा ढुसीका कण आँखामा पुगेर संक्रमण गराउन सक्छ ।
अभिभावकले घर तथा विद्यालय व्यवस्थापनले होस्टेल र शौचालयको नियमित सरसफाइमा विशेष ध्यान दिनुपर्छ । झ्याल, ढोका, पर्दा वा अन्य स्थानमा ढुसी देखिए तुरुन्त सफा गर्नुपर्छ । बालबालिकालाई त्यस्ता स्थानमा नछुन सिकाउनुपर्छ ।वर्षात्का वेला पनि मौसम अनुकूल हुँदा घरका झ्यालढोका खोल्ने, कोठामा हावा र प्रकाश पर्दा ढुसी उम्रिँदैन । कोठालाई सुक्खा राख्ने प्रयास गर्नुपर्छ । यसले ढुसी पलाउने सम्भावना कम गर्छ । सफा र हावापानी आउने वातावरणले आँखा पाक्ने मात्र होइन, रुघाखोकीजस्ता अन्य भाइरल संक्रमणको जोखिम पनि घटाउँछ ।
यदि बालबालिकाको आँखा रातो हुने, चिलाउने, धेरै आँसु आउने, आँखामा अन्य समस्या देखिएमा सचेत हुनुपर्छ । यस्ता लक्षण देखिएमा घरमै औषधि प्रयोग गर्नु उचित हुँदैन । आँखा अत्यन्त संवेदनशील अंग भएकाले ढिलाइ नगरी नजिकको आँखा विशेषज्ञ वा चिकित्सकसँग परामर्श लिनुपर्छ । समयमै सही उपचार सुरु गरेमा संक्रमण नियन्त्रण गर्न सकिन्छ र अन्त सर्ने जोखिम पनि कम हुन्छ ।
वर्षायाममा सामान्य सावधानी, नियमित सरसफाइ, हात धुने बानी र समयमै चिकित्सकको परामर्शले बालबालिकालाई आँखा पाक्ने रोगबाट प्रभावकारी रूपमा जोगाउन सकिन्छ ।