भदौमा पुनः आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

शुक्रबार, २२ साउन, २०८३
डिजिटल संस्करण

नेपाल शिक्षक महासंघले सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै आगामी भदौमा पुनः आन्दोलन गर्ने घोषणा गरेको छ।

महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले यसअघिको आन्दोलनभन्दा ठुलो र व्यापक आन्दोलन गर्ने निर्णय गरेको हो। शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघले सरकारसँग भएका सहमति कार्यान्वयन, शैक्षिक सुधार र पेसागत माग सम्बोधनका लागि आन्दोलन गर्न लागिएको जनाएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले पटक–पटक भएका सहमति कार्यान्वयनमा बेवास्ता गरेकाले आन्दोलनमा जान बाध्य भएको बताए। आन्दोलनको मिति र कार्यक्रम तय गर्ने जिम्मा विस्तारित कार्यालयीय बैठकलाई दिइएको उनले जानकारी दिए।

यसअघि शिक्षक महासंघले ०८१ चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरेको थियो। २९ दिनसम्म चलेको आन्दोलनपछि ०८२ वैशाख १७ गते सरकार र महासंघबिच नाैबुँदे सहमति भएको थियो। तर, लामो समय बितिसक्दा पनि सहमति कार्यान्वयन नभएको महासंघको आरोप छ।

महासंघले तत्काल विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षामा लगानी वृद्धि गर्नुपर्ने, विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने र गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्नुपर्ने माग अघि सारेको छ।

यस्तै, प्रारम्भिक बाल कक्षाका शिक्षक, विद्यालय कर्मचारी र सिकाइ अनुदानका शिक्षकका लागि स्थायी दरबन्दी सिर्जना गरी शिक्षकसरह तलब तथा सुविधा उपलब्ध गराउनुपर्ने माग पनि राखिएको छ।

महासंघले शिक्षा नियमावलीको दसाैँ संशोधनमा रहेको सरुवा व्यवस्था अव्यावहारिक भएको भन्दै त्यसलाई शिक्षकअनुकूल बनाउनुपर्ने माग गरेको छ।

सुझावित समाचार