श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले जनताले एलपी ग्यास खरिदका लागि तिरेको पैसा कहाँ जान्छ ? भनेर प्रश्न गरेका छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले भने, ‘जनताले ग्यासको पैसा तिरेका छन्, तर त्यो पैसा कहाँ जान्छ? किन ग्यास आएन ?’
उनले आफ्ना प्रतिनिधिलाई संसदमा जनताको आवाज उठाउन पठाएको भन्दै आफूहरूले निरन्तर जनताका मुद्दा उठाइरहने बताएका छन्। ‘जनताले हामीलाई यहाँ हाम्रो कुरा बोल्न भनेर पठाएका हुन्, त्यसैले हामी बोल्छौँ। आफूहरूले उठाएका विषयलाई सरकारले गम्भीरतापूर्वक सुन्नु, बुझ्नु र कार्यान्वयन गर्नुपर्छ। ’
साम्पाङले सरकारको सफलता वा असफलता प्रतिपक्षले उठाएका विषयलाई कत्तिको गम्भीरतापूर्वक लिन्छ भन्ने कुरामा निर्भर रहने उल्लेख गर्दै विगतका गलत अभ्यास र परम्परालाई नदोहोर्याउन आग्रह गरे। उनले लिपुलेक नाकासम्बन्धी विषयमा सरकारको स्पष्ट धारणा सार्वजनिक हुनुपर्ने बताए। चीन र भारतबिच नाका खुलेको विषयमा सरकारले संसद् र जनतालाई स्पष्ट जानकारी दिनुपर्ने उनको माग थियो।
उनले पुल तथा सडक निर्माणका लागि सरकारले छिट्टै ठेक्का आह्वान गर्ने अपेक्षा व्यक्त गर्दै सरकारका प्रतिबद्धता भाषणमा मात्र सीमित नभई काममार्फत प्रमाणित हुनुपर्ने बताए।
सहकारीपीडितका विषयमा बोल्दै साम्पाङले माइतीघरमा निरन्तर आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने र पीडितको बचत रकम यथाशीघ्र फिर्ता गराउन सरकार गम्भीर हुनुपर्ने धारणा राखे। त्यसैगरी, सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकारले शीघ्र काम अघि बढाउनुपर्ने उनको माग थियो।
साम्पाङले जनकपुरस्थित जानकी मन्दिरमा आफ्ना कार्यकर्तामाथि भएको कुटपिट घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न पनि सरकारसँग माग गरेका छन्।