पदयात्राका क्रममा हराएका तीनजनाको सकुशल उद्धार

बिहिबार, २१ साउन, २०८३
डिजिटल संस्करण

पदयात्राको क्रममा हराइरहेका तीनजनाको सकुशल उद्धार गरिएको छ। मर्दी हिमालको पदयात्राका लागि गएका उनीहरूलाई बिहीबार सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिका गणले जनाएको छ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका– ९, बादलडाँडास्थित मर्दी हिमाल ट्रेकिङको लागि मंगलबार गएका पोखरा महानगरपालिका– १४, खसीबजार बस्ने २४ वर्षका अजित जिसी, २३ वर्षका युकेश गुरुङ र २६ वर्षका करण लामा बुधबार ८ बजेबाट सम्पर्कविहीन भएका थिए।

खोजतलासका क्रममा कास्कीकै अन्नपूर्ण गाउँपालिका– ११, छोमरोङको फेदीस्थित मोदी खोलाको पारिपट्टी खोचमा देखिएपछि बिहीबार सकुशल उद्धार गरिएको गणका प्रहरी निरीक्षक साजन श्रेष्ठले जानकारी दिए।

उनीहरू सम्पर्कमा नआएको सूचनापछि गणका प्रहरी निरीक्षक श्रेष्ठको कमान्डमा १० जनाको विपत् व्यवस्थापन टोली आवश्यक उद्धारका सामग्रीहरूसहित खटिगएको थियो। टोलीले बुधबार साँझ ६ः२० बजेको समयमा उनीहरू तीनजनालाई मोदी खोलाको पारि सकुशल अवस्थामा देखेको थियो। 

उच्च बहावका कारण खोला तर्न/तार्न नसकिने अवस्था भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्माणाधीन अप्पर मोदी हाइड्रोपावरको एक्स्काभेटरको सहायतामा खोलामा साँघु (फड्के) बनाई खोलामा छरिएर बगेको पानीलाई एकीकृत गरी पठाए पनि रात परेपछि उद्धारको काम नसकिएपछि अलपत्र परेकाहरूलाई सुरक्षित रहन लगाई पुनः बिहीबार उद्धार गरिएको हो।

उद्धारपछि तीनैजनालाई प्राथमिक उपचार गरी पोखरा ल्याइएको छ।

सुझावित समाचार