लर्डबुद्धमा ‘एमबिए इन एआई’ र ‘डिजिटल लिडरसिप’ सुरु

बिहिबार, २१ साउन, २०८३
डिजिटल संस्करण

नेपालको पहिलो आइटी कलेज लर्डबुद्ध एजुकेसन फाउन्डेसनले ‘एमबिए इन एआई’ र ‘डिजिटल लिडरसिप’ पाठ्यक्रम सुरु गरेको छ । कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिको तीव्र विकास तथा बजारको मागलाई मध्यनजर गर्दै फाउन्डेसनले नयाँ पाठ्यक्रम सञ्चालनमा ल्याएको हो ।
 
एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसनको सम्बन्धनमा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त गरी त्रिभुवन विश्वविद्यालयबाट समकक्षतासहित ‘एमबिए इन एआई’ र ‘डिजिटल लिडरसिप’ कार्यक्रम सञ्चालमा आएको फाउन्डेसनका अध्यक्ष इन्जिनियर पंकज जालानले जानकारी दिए ।  ‘एमबिए इन एआई’ र ‘डिजिटल लिडरसिप’ कार्यक्रमका लागि फाउन्डेसनले डिएलए कन्सल्टिङसँग सहकार्य गरेको छ । 

नयाँ पाठ्यक्रमको शुभारम्भ कार्यक्रममा फाउन्डेसनका अध्यक्ष इन्जिनियर जालानले एआई भविष्यको प्रविधि मात्र नभई बैंकिङ, व्यापार, व्यवस्थापन, डाटा विश्लेषण, रिपोर्ट निर्माण र दैनिक कार्यालयका कामसम्म अत्यावश्यक भइसकेको बताए । 

उनले भने, ‘केही वर्षअघिसम्म मानिसले घण्टौँ लगाएर गर्ने काम अहिले एआईले केही मिनेटमै गर्न थालेको छ । यही परिवर्तनसँगै नेपालमा पनि एआईलाई टुल चलाउने प्रविधिका रूपमा होइन, शिक्षा, व्यवसाय र व्यवस्थापनसँग जोडेर पाठ्यक्रम विकास गर्न लागिएको हो ।' 

अध्यक्ष जलानका अनुसार यो कार्यक्रमको उद्देश्य विद्यार्थीलाई केवल एआई सफ्टवेयर वा टुल बनाउने प्राविधिक ज्ञान दिनु मात्र होइन, बजारमा उपलब्ध एआई टुललाई वास्तविक जीवन र व्यवसायमा कसरी प्रयोग गर्ने भन्ने सिकाउनु पनि हो । 
नयाँ पाठ्यक्रम शुभारम्भ कार्यक्रममा फाउन्डेसनका कार्यकारी निर्देशक प्रकाश केजरीवालले सूचना प्रविधिको विकास तथा एआईको वर्तमान र आगामी भविष्यबारे कार्यपत्र प्रस्तुत गरेका थिए । 

लर्डबुद्धले भौतिक एआई सर्भर ल्याब स्थापना गर्ने तयारीसमेत गरेको छ  । विदेशबाट  एआई सर्भर नेपाल भित्र्याउने तयारीसमेत भएको फाउन्डेसनले जनाएको छ ।  लर्डबुद्धका लागि एआई ल्याब केवल एउटा कोठामा राखिने सर्भर वा नयाँ उपकरण मात्र नभई, एआई शिक्षालाई व्यवहारमा उतार्ने मुख्य आधार बन्ने अपेक्षा गरिएको छ । 

भौतिक ल्याब बनाएर विद्यार्थीलाई कम खर्चमा प्रत्यक्ष अभ्यास गर्ने अवसर दिन लागिएको फाउन्डेसनले जनाएको छ  । आफ्नै सर्भरमा एआईसम्बन्धी प्रयोग, परीक्षण र सिकाइ गर्न पाउने भएपछि विद्यार्थीले किताब वा भिडियोमा मात्र सीमित नभई प्रविधिलाई प्रत्यक्ष रूपमा बुझ्ने अवसर पाउनेछन् । यससँगै विद्यार्थीले ११ वटा अन्तर्राष्ट्रिय अनलाइन ल्याब, रिसर्च पेपर, जर्नल र पुस्तकहरूको पहुँचसमेत पाउनेछन् ।

कार्यक्रममा डिएलए कन्सल्टिङका संस्थापक अध्यक्ष सुमन न्यौपानेले कृत्रिम बुद्धिमता सूचन प्रविधिको एउटा अंग मात्र नभई हरेक संस्थाको रणनीतिक निर्णय प्रक्रियाको अभिन्न अंग बनिसकेको बताए । न्यौपानेले भने, ‘एआईसम्बन्धी अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रमलाई काठमाडौं ल्याएर हामीले केवल अर्को शैक्षिक डिग्री थपिरहेका छैनौँ, बरु नेपालको भावी व्यावसायिक नेतृत्व निर्माण गर्ने नयाँ आधारशिला तयार गर्दै छौँ ।’ नेपालको सूचना प्रविधि अर्थतन्त्र विकासको सबैभन्दा महत्त्वपूर्ण अंग बनिसकेको न्यौपानेले बताए ।

सुझावित समाचार