ललितपुर महानगरपालिका– १७ स्थित ग्वार्को चोकमा आज भएको बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
प्रहरीका अनुसार कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा.२ख ३५९० नम्बरको बस एक्कासि फ्लाइओभरको भित्तामा ठोक्किएर अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो। बसमा करिब ३० जना यात्रु सवार रहेका थिए।
दुर्घटनामा दोलखाको सैलुङ गाउँपालिका घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका बस्दै आएकी ४० वर्षीया जेनिशा लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते १८ जनाको तत्काल उद्धार गरी उपचारका लागि बी एन्ड बी अस्पताल र ग्लोबल अस्पताल, ललितपुर पठाइएको छ। उनीहरूको उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न बसका चालक काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका– ३ घर भई हाल भक्तपुरको मालपोत क्षेत्रमा बसोबास गर्दै आएका ३६ वर्षीय लक्षु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।