सुनसरी र सिराहामा मृत्यु भएकाको परिवारलाई सरकारले क्षतिपूर्ति दिने

बिहिबार, २१ साउन, २०८३
डिजिटल संस्करण

सुनसरीको देवानगन्ज गाउँपालिका– ३, कप्तानगन्जबाट भड्किएको द्वन्द्वमा परी मृत्यु भएकाको परिवारलाई सरकारले क्षतिपूर्ति र राहत दिने निर्णय गरेको छ । घाइतेको उपचार पनि सरकारले नै गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले द्वन्द्वका क्रममा मृत्यु भएका परिवार र घाइते हुनेलाई क्षतिपूर्ति र उचित राहत दिने निर्णय गरेको हो । तर, क्षतिपूर्ति तथा राहतस्वरूप दिइने रकम भने तोकिएको छैन ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सुनसरीको देवानगन्ज गाउँपालिका– ३, कप्तानगन्जबाट भड्किएको धार्मिक द्वन्द्वमा परी मृत्यु भएकाको परिवार र घाइतेलाई क्षतिपूर्ति र राहत दिने निर्णय भएको बताए । सरकारको निर्णय सार्वजनिक गर्दै उनले भने, ‘सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेलाई क्षतिपूर्ति, राहत, उपचारको व्यवस्था गर्ने निर्णय भएको छ ।’

सुनसरीको कप्तानगन्जमा गत १० साउनमा प्रहरीले प्रहार गरेको गोलीले २४ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा घाइते भएका २२ वर्षीय जयप्रकाश मेहताको पनि मृत्यु भएको छ । घटनाको विरोधमा उत्रिएका सिराहाका १५ वर्षीय गणेश यादवको पनि प्रहरीले प्रहार गरेको गोलीबाट मृत्यु भएको थियो । घटनामा घाइते भएका देवानगन्ज– ३ कै २१ वर्षीय रवीन्द्रकुमार मेहताको मंगलबार उपचारका क्रममा मृत्यु भएको थियो ।

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा केसी 
विश्वविद्यालय अनुदान आयोगमा प्राडा खड्गबहादुर केसी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिविका पूर्वशिक्षाध्यक्ष केसीलाई अध्यक्षमा नियुक्त गरेको हो । आयोगको सदस्यसचिवमा प्राडा रोजी श्रेष्ठ नियुक्त भएकी छिन् । श्रेष्ठ नर्सिङ शिक्षा, अनुसन्धान र स्वास्थ्य सेवामा कार्यरत छिन् । उनले नर्सिङ विषयमा पिएचडीसमेत गरेकी छिन् । सरकारले ल्याएको अध्यादेशका कारण आयोगमा पदाधिकारी पद रिक्त भएको थियो । झन्डै दुई महिनापछि सरकारले पदाधिकारी नियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्ति भए पनि अन्य पदाधिकारी नियुक्ति हुन सकेको छैन । 

सुझावित समाचार