नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सुस्ता गाउँपालिका– ५, थारूटोलमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले शुक्रबार हस्तक्षेप गरेको घटना साम्य भएको छ, तर पटक–पटक भएका यस्ता घटनाबारे नेपाल सरकारले भारतलाई ध्यनाकर्षण गराएको छ । भारतीय एसएसबीले गत २९ जेठमा पनि त्यहाँ प्रवेश गरेर तटबन्ध भत्काउन थालेपछि नेपालीले लखेटेका थिए । नेपालले त्यसलगत्तै र अहिले घटनाबारे ध्यानाकर्षण गराएको छ ।
एसएसबीका स्थानीय फौजले जबर्जस्ती प्रवेश गरेर नेपाली बस्ती नारायणीबाट बचाउन बनाइएको अस्थायी तटबन्ध भत्काएको थियो । यसका नेपाली र भारतीयबिच विवादसमेत भएको थियो भने दुवैतिरका सुरक्षाकर्मीको समन्वयमा विवाद साम्य भएको थियो ।
नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीले भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान हेर्ने महाशाखामा सुस्तामा भएको घटनाबारे सोमबार ध्यानाकर्षण गराएका थिए । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार सुस्ता क्षेत्रमा नेपाली बस्तीको सुरक्षाका लागि स्थानीयले नै अस्थायी तटबन्ध बनाएको र यसलाई भत्काउनुपर्ने अवस्था नरहेको समेत ध्यनाकर्षण गराएका थिए । ती अधिकारीका अनुसार भारतीय पक्षले सुस्ता दुवै देशले स्वीकार गरेको विवादित क्षेत्र भएको उल्लेख गर्दै स्थानीय समस्यालाई स्थानीयस्तरमै समाधान गर्नुपर्ने र समग्र विषयमा दुई देशीय संयन्त्रमा छलफल गर्नुपर्नेमा जोड दिएको थियो ।
सुस्ता विवादित क्षेत्र भएको भन्दै एसएसबीले कुनै पनि प्रकारको संरचना बनाउन नमिल्ने जिकिर गर्दै सबै संरचना यथास्थितिमा राख्नुपर्ने भन्दै आएको छ । नेपाली बस्ती बचाउनुपर्ने विषयमा जिल्लास्तरमा दुवै पक्षको समन्वयमा छलफल भइरहेको नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए । दुई महिनाको बिचमा भारतीय एसएसबीले दोस्रोपटक सुस्ता क्षेत्रमा प्रवेश गरेर स्थानीय नेपालीलाई दुःख दिएको स्थानीयको आरोप छ ।
नारायणी नदीका कारण स्थानीय बस्ती डुबान र कटान नपर्ने गरी अस्थायी समाधान खोज्न स्थानीयस्तरमा छलफल भइरहेको प्रशासनले जनाएको छ । ‘शुक्रबार तटबन्धसँग सम्बन्धित विषय १५ मिनेटभित्रै साम्य भएको थियो । अस्थायी तटबन्ध वा बाँधका विषयमा भएको विवाद भारतीय पक्षसँग समन्वयमा समाधान भएको छ । अहिले परिस्थिति सहज र शान्त छ,’ नवलपरासीका प्रमुख जिल्ला अधिकारी नेपालले भने ।
शुक्रबार नारायणी नदीको कटान रोक्न स्थानीयवासीले अस्थायी तटबन्ध निर्माण गरेकोमा स्थानीय भारतीय र एसएसबीले आएर तटबन्धको माटो निकालेका थिए । स्थानीय बासिन्दाले नारायणी नदीको डुबान र कटानबाट बस्तीलाई जोगाउन अस्थायी तटबन्ध बनाएका थिए । नारायणी नदीको कटानबाट बस्ती जोगाउन स्थानीयवासीले आफ्नै पहलमा अस्थायी तटबन्ध निर्माण गरेका थिए ।
नेपालले उक्त क्षेत्रमा १३२ मिटर पक्की तटबन्ध निर्माण गर्न लागेकोमा भारतले विवादित क्षेत्रमा पक्की संरचना बनाउन नमिल्ने अडान राखेपछि अहिलेसम्म यो बन्न सकेको छैन । नारायणीको कटान रोक्न स्थानीयवासीले श्रमदानमार्फत माटो थुपारेर अस्थायी तटबन्ध निर्माण थालेका थिए । सुरुवातमा बोरामा माटो हालेर जालीमा भर्ने तयारी भइरहेका वेला शुक्रबार भारतीय एसएसबी र भारतीय नागरिकसमेत सुस्ता संरचना भत्काउन थालेका थिए । त्यसपछि विवाद भएको थियो । दुवै पक्षका नागरिकबिच विवाद भएपछि स्थानीय प्रशासनको समन्वयमा आ–आफ्ना सुरक्षाकर्मीले नागरिकलाई आ–आफ्नो देशतिर लगेका थिए । ‘१५ मिनेटको बिचमा हाम्रा नागरिकलाई सशस्त्र प्रहरीले हाम्रोतिर ल्याए, भारतीय नागरिकलाई एसएसबीले त्यहाँबाट हटाएर लगे,’ नेपालले भने ।
नेपाल र भारतबिच सुस्ता र कालापानी लिम्पियाधुरा क्षेत्रमा सीमांकन भएको छैन । त्यहाँ सीमारेखाबारे नेपाल र भारतबिच विवाद छ । नेपालले त्यहाँ लामो समयदेखि रहेको सिमलको रुखलाई सीमा मानेको छ, तर भारतीय पक्षले भने दुई सय मिटर नेपालतिरको अर्को रुखलाई सीमा रहेको दाबी गर्दै आएको छ । प्रमुख जिल्ला अधिकारी नेपालले अस्थायी तटबन्ध निर्माणका विषयमा भारतीय पक्षसँग समन्वय भइरहेको बताए । ‘उहाँहरूसँग समन्वयमा नेपाली बस्तीको सुरक्षाका लागि आवश्यक कदम चाल्नेछौँ, भारतीय पक्षसँग र स्थानीय बासिन्दासँग हाम्रो निरन्तर छलफल भइरहेको छ,’ नेपालले भने ।
सुस्तामा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट खटिएको छ । सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सुरुमा ३५ जनाको टोली रहेकोमा २९ जेठको घटनापछि जनशक्ति थपिएको सशस्त्र प्रहरी प्रवक्ता डिआइजी नेत्रबहादुर कार्कीले जानकारी दिए । ‘हाम्रो बिओपी त्यहाँ खटिएको छ । अहिले परिस्थिति शान्त छ, हाम्रो टोलीले भारतीय समकक्षीसँग सुरक्षाबारे समन्वय गरिरहेको छ,’ उनले भने ।